काठमाडौ । ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत लक्की ड्र मार्फत जनकपुरका उपभोक्ता बम्पर विजेता घोषणा भएका छन् ।
उनले १० लाख रुपैयाँ जितेको आन्तरिक राजस्व विभागले जनाएको छ । धनुषाको नगराइन नगरपालिका–९ का गौरीशंकर पंण्डितले सो पुरस्कार जितेका हुन् । उनी हाल ललितपुर बस्दै आएका छन् । उनले कात्तिक ५ गते बिग मार्टबाट ४ सय १५ रुपैयाँको तोरीको तेल किनेका थिए । तोरीको तेल किनेपछि उनले इसेवाबाट भुक्तानी गरेका थिए । विभागले अर्थमन्त्रालयमा सोमबार क्रिकेटर ललितनारायण राजबंशीको उपस्थितिमा बम्पर विजेताको नाम घोषणा गरेको हो ।
क्रिकेटर ललितनारायण राजवंशीले बम्बर विजेतालाई पुरस्कार पाएको जानकारी दिएका थिए । कार्यक्रमस्थल अर्थमन्त्रालयबाटै १० लाख रुपैयाँको बम्पर उपहार जित्ने पण्डितलाई टेलिफोन सम्पर्क गरिएको थियो । उनले सुरुमा आफू अनभिज्ञ रहेको बताएपनि पुरस्कार बापत पाएको १० लाख रुपैयाँले घर बनाउने प्रतिक्रिया दिए ।
उनले कुराकानीका क्रममा आफू नेपाल प्रिमियर लिग (एनपिएल) मा ‘जनकपुर बोल्ट्स’को समर्थक भएको बताएका थिए। कार्यक्रममा उपस्थित जनकपुर बोल्ट्स तथा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितनारायण राजवंशीले विजेतासँग फोनमा कुराकानी गर्दै बधाई दिए ।
विभागले उनलाई खरिद गरिएको सक्कल बिल लिएर जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी कागजी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
विभागले कात्तिक १ देखि १५ गतेसम्मका बिलहरूमध्येबाट १५ जना दैनिक विजेता र एक जना बम्पर विजेता गरी कुल १६ जना विजेताको घोषणा गरेको छ ।
उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न सरकारले सञ्चालन गरेको यस योजना अन्तर्गत यो कार्यक्रम लागु गरिएको हो ।
प्रक्रिया पूरा भएपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।
प्रतिक्रिया