काठमाडौं । एभरेष्ट बैंकले भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) सँगको प्राविधिक सेवा सम्झौता (टीएसए) अन्तर्गत गर्ने खर्च बढाएको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा टीएसए शुल्क तथा अन्य खर्चबापत ३ करोड ५९ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस्तो खर्च २ करोड ४३ लाख ७२ हजार रुपैयाँ थियो । यससँगै टीएसएअन्तर्गतको खर्च एक वर्षमा करीब ४८ प्रतिशत बढेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
एभरेष्ट बैंकमा पीएनबीको २०.०२ प्रतिशत सेयर स्वामित्व छ । इक्विटी तथा व्यवस्थापन सहभागिताका लागि भएको सम्झौताअनुसार पीएनबीले एभरेष्ट बैंकलाई प्राविधिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराउँदै आएको छ ।
बैंकको वार्षिक प्रतिवेदनअनुसार गत आवमा टीएसए शुल्क मात्रै १ करोड १३ लाख ९० हजार रुपैयाँ रहेको छ । बाँकी रकम सम्झौताअन्तर्गतका अन्य सेवा तथा खर्चमा भएको बैंकले जनाएकाे छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार टीएसएअन्तर्गत काम गर्ने कर्मचारीको संख्या बढेकाले खर्चमा वृद्धि भएको हो । पहिले एक जना कर्मचारीले मात्रै यससम्बन्धी काम गर्दै आएकोमा अहिले दुई जना कर्मचारी संलग्न छन् ।
खालिङका अनुसार पीएनबीले एभरेष्ट बैंकलाई नयाँ प्रविधि तथा प्रणालीसम्बन्धी तालिम, बैंकका नीतिमा मार्गदर्शन, अन्तरराष्ट्रिय बैंकिङ अभ्यास र विश्वव्यापी प्रवृत्तिबारे जानकारी आदानप्रदानलगायतका सेवा उपलब्ध गराउँदै आएको छ । बैंकलाई आवश्यक दक्ष जनशक्ति तथा विशेषज्ञ सहयोगसमेत पीएनबीले उपलब्ध गराउने गरेको उनको भनाइ छ ।
‘नयाँ अपडेटेड सिस्टमका ट्रेनिङ, बैंकको पोलिसीमा मार्गदर्शन, इन्टरनेशनल ग्लोबल ट्रेन्डबारे नलेज सेयरिङदेखि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनेसम्मका काम हुन्छन्,’ खालिङले भने, ‘यसबाट हामीले धेरै फाइदा लिएका छौं ।’
उनका अनुसार संयुक्त लगानीमा सञ्चालित बैंकहरूमा यस्तो प्राविधिक तथा व्यवस्थापकीय सहकार्य सामान्य अभ्यास हो । टीएसए सम्झौता एक पटकमा पाँच वर्षका लागि हुने व्यवस्था छ ।
लाभांशमा पनि पीएनबीको ठूलो हिस्सा
एभरेष्ट बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ छ । यसमध्ये पीएनबीको २०.०२ प्रतिशत स्वामित्व छ । बैंकको नाफाबाट पीएनबी समूहले प्राप्त गर्ने लाभांश रकम पनि उल्लेख्य छ ।
बैंकको वार्षिक प्रतिवेदनअनुसार गत आवमा पीएनबी समूहलाई ३३ करोड ६९ लाख ८१ हजार रुपैयाँ नगद लाभांश भुक्तानी भएको छ । अघिल्लो आवमा यस्तो रकम १३ करोड ३ लाख १५ हजार रुपैयाँ थियो ।
त्यस्तै, गत आवमा पीएनबी बैंकले १५ लाख ५५ हजार २९८ कित्ता बोनस शेयर प्राप्त गरेको छ । अघिल्लो आवमा उसले २३ लाख ५६ हजार ५१२ कित्ता बोनस शेयर पाएको थियो ।
बैंकले गत आवको नाफाबाट ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) वितरण गरेको थियो ।
एभरेष्ट बैंकमा पीएनबीको लगानी, प्राविधिक सहयोग र व्यवस्थापन सहभागिता एकअर्कासँग जोडिएका छन् । बैंकले यस्तो सहयोगबाट प्रविधि, दक्षता र अन्तरराष्ट्रिय अभ्यास भित्र्याउने लाभ लिएको बताउँदै आएको छ ।
बैंकमा गत आवसम्ममा ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले गत आवमा ५ अर्ब ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
प्रतिक्रिया