काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा बढाएको छ । तर, नाफामा भएको सुधारसँगै बैंकको खराब कर्जा भने उच्च दरमा पुगेको छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापतको खर्च (इम्पेयरमेन्ट चार्ज) उल्लेख्य रूपमा घट्दा बैंकको नाफा बढेको देखिएको हो ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको नाफा ८.१० प्रतिशतले बढेको हो ।
बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्ज घट्नु प्रमुख कारण देखिएको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ३७ लाख रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ५८ करोड ८६ लाख रुपैयाँमा झरेको छ । यसअनुसार इम्पेयरमेन्ट चार्ज करिब ४१.५ प्रतिशतले घटेको छ । सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकम घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव परेको हो ।
तर, बैंकको सम्पत्तिको गुणस्तरमा भने उल्लेख्य दबाब देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.७८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात (एनपीएल) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १४.८० प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा खराब कर्जा अनुपात ९.०२ प्रतिशत विन्दुले बढ्नु बैंकका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
बैंकको खराब कर्जा उच्च दरमा पुगे पनि इम्पेयरमेन्ट चार्ज घटेको तथ्यले नाफाको गुणस्तर र आगामी जोखिम व्यवस्थापनबारे प्रश्न उठाएको छ । कर्जा असुलीमा सुधार नभए निष्क्रिय कर्जा व्यवस्थापन तथा सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि आगामी त्रैमासमा बैंकले थप दबाब सामना गर्नुपर्ने हुन सक्छ ।
यसैगरी, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । गत वर्ष पहिलो त्रैमासमा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ । यसले बैंकको मुख्य बैंकिङ व्यवसायबाट हुने आम्दानीमा संकुचन आएको देखाउँछ ।
बैंकको सञ्चालन आम्दानी पनि घटेर करिब १ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको गिरावटका बीच इम्पेयरमेन्ट चार्ज घटेकै कारण नाफा बढेको वित्तीय विवरणले देखाउँछ ।
बैंकको वितरणयोग्य नाफा भने ६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीले ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
प्रतिक्रिया