वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्व बैंकले भन्याे

सन् २०४९ सम्म दक्षिण एसिया विश्बकै सवैभन्दा बृद्ध जनसख्या भएको क्षेत्र बन्न सक्छ

सन् २०४९ सम्म दक्षिण एसिया विश्बकै सवैभन्दा बृद्ध जनसख्या भएको क्षेत्र बन्न सक्छ
अर्थटुडे
२०८३ कार्तिक १८, मंगलवार

काठमाडौं । विश्व बैंकले दक्षिण एसियामा काम गर्ने जनसख्या घट्दै गएको र सन् २०४९ सम्ममा दक्षित एसिया विश्वकै बृद्ध जनसख्या बढी भएको देश बन्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका अनुसार दक्षिण एसिया अहिले विश्वकै ठूलो काम गर्ने उमेर समूहको जनसंख्यामध्ये एक रहेको छ। तर यो जनसांख्यिकीय अवसर लामो समयसम्म रहने छैन।

आगामी एक दशकभित्रै काम गर्ने उमेर समूहको जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्ने र सन् २०४९ सम्म दक्षिण एसिया वृद्ध जनसंख्या बढी भएको क्षेत्र बन्ने प्रक्षेपण विश्व बैंकको रहेको छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘डेमोग्राफिक चेन्ज इन साउथ एसिया : फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनले दक्षिण एसियाले जनसांख्यिकीय लाभलाई आर्थिक वृद्धिमा रूपान्तरण गर्न अब ढिला गर्न नहुने निष्कर्ष निकालेको छ।

प्रतिवेदनअनुसार दक्षिण एसियामा हाल काम गर्ने उमेर समूहका १ अर्ब १७ करोड जनसंख्या छन्। तर एक दशकभन्दा कम समयमै यो समूहको जनसंख्या उच्च बिन्दुमा पुग्ने र त्यसपछि घट्न थाल्नेछ। सन् २०४९ सम्म यस क्षेत्रको कुल जनसंख्याको १४ प्रतिशत हिस्सा ६५ वर्षमाथिका नागरिकको हुने प्रक्षेपण छ।

विश्व बैंकका अनुसार सन् २००० यता काम गर्ने उमेर समूहको हिस्सा बढ्दै जाँदा दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) विस्तारमा वार्षिक ०.४ प्रतिशत र श्रम उत्पादकत्व वृद्धिमा १.१ प्रतिशत योगदान पुगेको छ। तर अब जनसांख्यिकीय संरचनाबाट प्राप्त हुने आर्थिक लाभ क्रमशः कमजोर हुँदै जानेछ।

सन् २०५० सम्म दक्षिण एसियाको आर्थिक वृद्धिमा जनसांख्यिकीय परिवर्तनको वार्षिक योगदान घटेर ०.१ प्रतिशतमा सीमित हुने प्रतिवेदनको प्रक्षेपण छ।

कम आयमै वृद्ध समाजतर्फ

दक्षिण एसियाको अर्को चुनौती जनसंख्या वृद्ध हुँदै जानु मात्रै होइन, तुलनात्मक रूपमा कम प्रतिव्यक्ति आय भएको अवस्थामै वृद्ध समाजमा प्रवेश गर्नु पनि हो।

प्रतिवेदनअनुसार विकासशील अर्थतन्त्रहरूले जनसंख्या वृद्ध हुँदै गएको अवस्थाबाट वृद्ध जनसंख्या बढी भएको अवस्थामा पुग्न औसत ३२ वर्ष लगाएका छन्। तर दक्षिण एसियाले यो संक्रमण २५ वर्षमै पार गर्नेछ।

यसको अर्थ दक्षिण एसियाका मुलुकसँग रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र वृद्धावस्थाको सामाजिक सुरक्षा प्रणाली विकास गर्न तुलनात्मक रूपमा कम समय हुनेछ।

विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष जोहानेस जुटले दक्षिण एसियाली अर्थतन्त्रहरू विकासको तुलनात्मक रूपमा प्रारम्भिक चरणमै तीव्र गतिमा वृद्ध हुँदै गएको बताएका छन्।

उनका अनुसार युवाजनसांख्यिकीय लाभ उपयोग गर्न गुणस्तरीय रोजगारी सिर्जना र पूर्वाधार विकाससँगै वृद्धावस्थाका लागि पनि अहिलेबाटै तयारी गर्न आवश्यक छ ।

काम गर्ने जनशक्ति धेरै, रोजगारी पाउने कम

दक्षिण एसियाको जनसांख्यिकीय लाभ उपयोगमा सबैभन्दा ठूलो अवरोध रोजगारीको अभाव देखिएको छ। प्रतिवेदनअनुसार काम गर्ने उमेर समूहको जनसंख्यामध्ये ६० प्रतिशतले मात्रै रोजगारी पाएका छन्। रोजगारीमा रहेका श्रमिकमध्ये ८८ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन्।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले तुलनात्मक रूपमा कम आम्दानी र कमजोर रोजगारी सुरक्षाको सामना गर्नुपरेको छ। यसले ठूलो जनशक्ति उपलब्ध हुँदाहुँदै पनि त्यसलाई अर्थतन्त्रको उत्पादन र उत्पादकत्व वृद्धिमा रूपान्तरण गर्न कठिन बनाएको छ।

विश्व बैंकले श्रमिकको सीप र स्वास्थ्य सुधार, गुणस्तरीय तथा राम्रो पारिश्रमिकयुक्त रोजगारी सिर्जना र सामाजिक सुरक्षा विस्तार नगरे दक्षिण एसियाले जनसांख्यिकीय लाभको अवसर गुमाउन सक्ने चेतावनी दिएको छ।
पेन्सनमा पहुँच १० प्रतिशतलाई मात्रै

दक्षिण एसियामा औसत आयु बढ्दै गए पनि स्वास्थ्य अवस्था र वृद्धावस्थाको आर्थिक सुरक्षामा पर्याप्त सुधार हुन नसकेको प्रतिवेदनले देखाएको छ।

हाल यस क्षेत्रको काम गर्ने उमेर समूहका १७ प्रतिशतले मात्रै पेन्सन योजनामा योगदान गर्छन्। त्यस्तै, वृद्ध दक्षिण एसियाली नागरिकमध्ये १० प्रतिशतले मात्रै कुनै न कुनै प्रकारको पेन्सन सुविधा पाउने गरेका छन्। प्रतिवेदनअनुसार वृद्धावस्थाको पेन्सन पहुँचका हिसाबले यो विश्वकै सबैभन्दा न्यून अवस्था हो।

स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह र पेन्सन प्रणालीले भविष्यमा बढ्ने वृद्ध जनसंख्याको आवश्यकता धान्न नसक्ने जोखिम रहेको विश्व बैंकको निष्कर्ष छ।

दुई तहको सुधार गर्न विश्व बैंकको सुझाव

विश्व बैंकले दक्षिण एसियाली मुलुकलाई जनसांख्यिकीय परिवर्तनबाट लाभ लिन दुई तहमा सुधार गर्न सुझाव दिएको छ।

पहिलो, युवाजनसांख्यिकीय लाभलाई अधिकतम उपयोग गर्न उत्पादनशील रोजगारी विस्तार, साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउने, व्यावसायिक तथा शैक्षिक सीप सुधार गर्ने र निजी क्षेत्रका लागि नियामकीय अवरोध घटाउनुपर्नेछ। साथै महिलाको रोजगारीमा सहभागिता बढाउन विद्यमान अवरोध हटाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

दोस्रो, वृद्ध जनसंख्यालाई आर्थिक रूपमा सक्रिय राख्न स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह र पेन्सन प्रणाली सुदृढ बनाउनुपर्नेछ। बचत तथा लगानी विस्तारमार्फत उत्पादकत्व बढाउनुका साथै स्वस्थ वृद्ध नागरिकको अनुभव र क्षमतालाई अर्थतन्त्रमा उपयोग गर्नुपर्ने विश्व बैंकको सुझाव छ।

दक्षिण एसियाले अहिलेको युवा जनशक्तिलाई उत्पादनशील श्रमशक्तिमा रूपान्तरण गर्न सके भविष्यमा वृद्ध जनसंख्या पनि आर्थिक योगदानको स्रोत बन्न सक्ने प्रतिवेदनको निष्कर्ष छ।

जनसांख्यिकीय लाभको समय क्रमशः छोटिँदै गएको अवस्थामा अबको आर्थिक नीतिको प्राथमिकता जनसंख्याको आकारभन्दा पनि त्यसको उत्पादकत्व, रोजगारीको गुणस्तर र सामाजिक सुरक्षाको दिगोपन हुनुपर्ने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?