काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय गाडी (ईभी) ई.मास ५ ले अन्तर्राष्ट्रिय स्तरमा दुई प्रतिष्ठित अवार्ड जितेको छ । मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा ई.मास ५ ले दुई विधामा अवार्ड जितेको हो ।
ई.मास ५ ले ‘बेस्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘बेस्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।
उपभोक्ताको रोजाइ र अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकन दुवैमा उत्कृष्ट ठहरिँदै दुई अवार्ड प्राप्त गर्नुलाई कम्पनीले विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र विश्वासको संकेतका रूपमा लिएको छ । पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको छनोट र विश्वासका आधारमा प्रदान गरिन्छ भने एडिटर्स च्वाइस अवार्ड व्यावसायिक अटोमोबाइल मूल्यांकनका आधारमा प्रदान गरिएको हो ।
कम्पनीका अनुसार आधुनिक डिजाइन, प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि उपयुक्त सुविधाले ई.मास ५ लाई प्रतिस्पर्धी विद्युतीय सवारीका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ ।
नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेको समयमा प्राप्त यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली बजारमा प्रोटोन ई.मास ५ को ब्रान्ड विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रविधिमैत्री, व्यावहारिक र मूल्यका हिसाबले प्रतिस्पर्धी विद्युतीय सवारी खोज्ने ग्राहकका लागि यो उपलब्धि महत्वपूर्ण हुने कम्पनीको भनाइ छ ।
नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका अटोमोबाइल प्रविधि नेपाली ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
नेपालमा प्रोटोनको विद्युतीय सवारी विस्तारका क्रममा यसअघि ई.मास ७ सार्वजनिक भइसकेको छ । ई.मास ५ को आगमनलाई कम्पनीले नेपाली बजारमा विद्युतीय सवारीको उपस्थिति विस्तार गर्ने अर्को महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
जगदम्बा मोटर्सले प्रोटोन मलेसियासँगको सहकार्यमा नेपालमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई विश्वसनीय सेवा र स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
प्रतिक्रिया