काठमाडौं । लघुवित्त वित्तीय संस्थाले अब ग्राहकको धितो र पुरानो कर्जा इतिहास मात्र होइन, उसको व्यवहार, निर्णय क्षमता र वित्तीय अनुशासनसमेत मूल्यांकन गरेर कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले साइकोमेट्रिक क्रेडिट स्कोरिङलाई कर्जा विश्लेषणको आधारका रूपमा प्रयोग गर्ने नियामकीय बाटो खुला गरेसँगै लघुवित्त क्षेत्रमा कर्जा मूल्यांकनको नयाँ विधि प्रयोगमा आउने भएको हो ।
परम्परागत रूपमा लघुवित्त संस्थाले सामूहिक जमानी, धितो र ऋणीको आम्दानी तथा कर्जा इतिहासका आधारमा कर्जा प्रवाह गर्दै आएका छन् । तर, न्यून आय भएका, साना व्यवसायी तथा पहिलोपटक कर्जा लिन चाहने धेरै व्यक्तिसँग पर्याप्त धितो वा कर्जा इतिहास नहुन सक्छ । यस्तो अवस्थामा उनीहरूको वास्तविक कर्जा तिर्न सक्ने क्षमता पहिचान गर्न साइकोमेट्रिक स्कोरिङ उपयोगी हुने अपेक्षा गरिएको छ ।
यो विधिमा ऋणीको मनोवैज्ञानिक विशेषता, व्यवहार र निर्णय गर्ने शैलीको विश्लेषण गरेर उसले कर्जा तिर्ने सम्भावना मूल्यांकन गरिन्छ । ग्राहकलाई विभिन्न प्रश्न सोधेर उसको जिम्मेवारीबोध, इमानदारी, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन क्षमता र प्रतिबद्धताजस्ता पक्षको मूल्यांकन गरिन्छ ।
अर्थात्, अब कर्जा लिन आउने व्यक्तिसँग कति सम्पत्ति छ वा उसले विगतमा कति कर्जा लिएको छ भन्ने मात्रै होइन, उसले पैसा कसरी व्यवस्थापन गर्छ, समस्यामा पर्दा कस्तो निर्णय लिन्छ र आफ्नो प्रतिबद्धता कति पूरा गर्छ भन्ने पक्षलाई पनि कर्जा विश्लेषणमा समेट्न सकिनेछ ।
राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच चार वर्षअघि नै ऋणीको मनोवैज्ञानिक तथा व्यवहारगत पक्ष मूल्यांकन गर्ने प्रणाली विकास र परीक्षण गर्ने सहकार्य भएको थियो । त्यसपछि कर्जा सूचना केन्द्रले यस्तो प्रणाली विकास गरी लघुवित्त सेवा प्रदान गर्ने ६ संस्थामार्फत परीक्षणसमेत गरेको जनाएको छ । अहिले राष्ट्र बैंकबाट यसको प्रयोगका लागि नियामकीय आधार स्पष्ट भएसँगै यसलाई कर्जा विश्लेषणमा प्रयोग गर्ने बाटो खुलेको हो ।
के हो साइकोमेट्रिक क्रेडिट स्कोरिङ ?
साइकोमेट्रिक क्रेडिट स्कोरिङ भनेको ऋणीको आर्थिक विवरण, धितो वा विगतको कर्जा इतिहासमा मात्र निर्भर नभई उसको मनोवैज्ञानिक विशेषता र व्यवहारका आधारमा कर्जा जोखिम मूल्यांकन गर्ने विधि हो ।
यसमा ऋणीलाई विभिन्न बहुविकल्पीय प्रश्न सोधिन्छ । उदाहरणका लागि, कुनै व्यक्तिले व्यवसायमा घाटा व्यहोरेमा कसरी निर्णय गर्छ, आम्दानीभन्दा खर्च बढेमा कसरी व्यवस्थापन गर्छ, आर्थिक प्रतिबद्धता पूरा गर्न कत्तिको प्राथमिकता दिन्छ वा आकस्मिक आर्थिक समस्या आएमा त्यसको समाधान कसरी खोज्छ भन्ने विषयमा प्रश्न गरिन्छ ।
यस्ता प्रश्नको जवाफका आधारमा व्यक्तिको निर्णय क्षमता, जिम्मेवारीबोध, जोखिम व्यवस्थापन, व्यावसायिक दक्षता र वित्तीय अनुशासनको मूल्यांकन गरिन्छ ।
लघुवित्त विज्ञ उमा जोशी बोहोराका अनुसार हार्खबचम विश्वविद्यालयले सन् २००६ मा साइकोमेट्रिक क्रेडिट स्कोरिङ विधिको विकास गरेको हो । सन् २०१० पछि यसको प्रयोग विस्तार हुन थालेको हो ।
उनका अनुसार यो विधि विशेषगरी लघुवित्त तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा धितोविनाको कर्जा मूल्यांकनका लागि उपयोगी हुन सक्छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरूमा पनि यसको प्रयोग बढ्दै गएको छ ।
यो प्रणाली ट्याब्लेट, मोबाइल, वेब एप्लिकेसन तथा टेलिफोन अन्तर्वार्तामार्फत सञ्चालन गर्न सकिन्छ । यसका लागि ऋणीको जोखिम ग्रहण क्षमता, निर्णय क्षमता, व्यावसायिक दक्षता, प्रतिबद्धता, समस्या समाधान, वित्तीय अनुशासन, इमानदारी र आर्थिक दबाब व्यवस्थापन क्षमतासम्बन्धी १२ देखि १५ वटासम्म प्रश्न तयार गरिन्छ ।
प्रश्नहरू स्पष्ट, व्यावहारिक र निष्पक्ष हुनुपर्छ । प्राप्त उत्तरका आधारमा ऋणीले प्राप्त गर्ने अंकभार निर्धारण गरी कर्जा जोखिमलाई न्यून, मध्यम र उच्च वर्गमा वर्गीकरण गर्न सकिन्छ ।
क्रेडिट र साइकोमेट्रिक स्कोरिङमा फरक
नेपालमा कर्जा सूचना केन्द्रले यसअघि नै ऋणीको कर्जा इतिहासका आधारमा क्रेडिट स्कोरिङ गर्दै आएको छ । तर, क्रेडिट ब्युरो र साइकोमेट्रिक स्कोरिङको आधार फरक हुन्छ ।
क्रेडिट ब्युरो स्कोरिङले ऋणीको विगतको वित्तीय व्यवहारलाई आधार बनाउँछ । उसले यसअघि कर्जा लिएको छ कि छैन, समयमै साँवा तथा ब्याज भुक्तानी गरेको छ कि छैन, कति कर्जा चलिरहेको छ र कति पटक नयाँ कर्जा लिएको छ भन्ने तथ्यांकका आधारमा स्कोर तयार गरिन्छ ।
तर साइकोमेट्रिक स्कोरिङले ऋणीको विगतको कर्जा इतिहासभन्दा उसको वर्तमान व्यवहार र मनोवैज्ञानिक विशेषतालाई प्राथमिकता दिन्छ । यसले विशेषगरी पहिलोपटक कर्जा लिन चाहने वा पर्याप्त कर्जा इतिहास नभएका व्यक्तिको जोखिम मूल्यांकनमा सहयोग पु¥याउन सक्छ ।
यस अर्थमा क्रेडिट ब्युरो स्कोरिङले ऋणीले विगतमा कस्तो वित्तीय व्यवहार ग¥यो भन्ने देखाउँछ भने साइकोमेट्रिक स्कोरिङले उसको व्यवहार र निर्णय क्षमताका आधारमा भविष्यमा कस्तो वित्तीय व्यवहार गर्न सक्छ भन्ने अनुमान गर्न खोज्छ ।
सञ्चालनमा रहेका ४८ वटा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म ४ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये धितोमा आधारित कर्जाको हिस्सा १३.७८ प्रतिशत मात्रै छ । बाँकी ८६.२२ प्रतिशत कर्जा बिनाधितो प्रवाह भएको छ ।
बिनाधितो कर्जामा ऋणीले भुक्तानी नगरेमा असुलीका लागि बिक्री गर्न सकिने धितो हुँदैन । यस्तो अवस्थामा कर्जा असुलीमा समस्या आउँदा संस्थाले ठूलो नोक्सानी व्यहोर्नुपर्ने जोखिम हुन्छ ।
त्यसैले ठूलो हिस्सा बिनाधितो रहेको लघुवित्त क्षेत्रका लागि ऋणीको वास्तविक जोखिम पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । परम्परागत कर्जा मूल्यांकनले पर्याप्त सूचना दिन नसक्ने अवस्थामा साइकोमेट्रिक स्कोरिङले थप जानकारी उपलब्ध गराउन सक्छ ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवका अनुसार यो प्रणाली प्रभावकारी रूपमा प्रयोग गर्न सकिएमा धितो नभएका ग्राहकको जोखिम मूल्यांकन गर्न, पहिलोपटक कर्जा लिनेलाई कर्जा उपलब्ध गराउन र राम्रो वित्तीय व्यवहार भएका ऋणी पहिचान गर्न सहज हुनेछ ।
उनका अनुसार यसले कर्जा दुरुपयोगको जोखिम घटाउन तथा ऋणीको जोखिमअनुसार कर्जा सीमा निर्धारण गर्न पनि सहयोग पु¥याउन सक्छ ।
कर्जा पहुँच बढाउने अवसर, तर जोखिममुक्त प्रणाली होइन
साइकोमेट्रिक स्कोरिङले धितो नभएका र कर्जा इतिहास नबनाएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न सहयोग गर्न सक्छ । विशेषगरी साना व्यवसायी, किसान र न्यून आय भएका परिवारका लागि यो विधि उपयोगी हुन सक्छ ।
तर, व्यक्तिको मनोविज्ञान र व्यवहारका आधारमा कर्जा तिर्ने सम्भावना अनुमान गर्नु आफैँमा पूर्ण विश्वसनीय प्रणाली भने होइन । प्रश्नको जवाफमा व्यक्तिले वास्तविक व्यवहारभन्दा आफूलाई राम्रो देखाउने उत्तर दिन सक्छ । भाषा, शिक्षा, सामाजिक परिवेश र प्रश्न बुझ्ने क्षमताले पनि प्राप्त अंकमा प्रभाव पार्न सक्छ ।
त्यसैले प्रश्नावलीको निष्पक्षता, परीक्षणको विश्वसनीयता र प्राप्त स्कोरको नियमित प्रमाणीकरण महत्त्वपूर्ण हुन्छ । ग्राहकको गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने हुन्छ ।
साइकोमेट्रिक स्कोरिङलाई धितो, आम्दानी, कर्जा इतिहास र व्यवसायको अवस्थाको विकल्पभन्दा पनि पूरक मूल्यांकन विधिका रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
लघुवित्त क्षेत्रमा ८६ प्रतिशतभन्दा बढी कर्जा बिनाधितो प्रवाह भइरहेको अवस्थामा ऋणीको वास्तविक जोखिम पहिचान गर्न नयाँ विधिको प्रयोगले कर्जा व्यवस्थापनमा सुधार ल्याउन सक्छ । तर, यसको प्रभावकारिता भने परीक्षणको नतिजा, प्रश्नावलीको गुणस्तर र वित्तीय संस्थाले गर्ने जिम्मेवार प्रयोगमा निर्भर हुनेछ ।
प्रतिक्रिया