काठमाडौं । नेपालमा हुण्डी कारोबार परम्परागत अनौपचारिक रकम स्थानान्तरणको माध्यमबाट विकसित हुँदै संगठित, अन्तरदेशीय र डिजिटल सञ्जालका रूपमा विस्तार भइरहेको छ । हुण्डी नियन्त्रणका लागि कानुनी व्यवस्था भए पनि यसको सञ्चालनमा बैंकिङ प्रणाली, डिजिटल वालेट, रेमिट्यान्सका सबएजेन्ट, नक्कली कम्पनी र सीमापार नगद ओसारपसारसमेत प्रयोग हुन थालेको एक सरकारी अध्ययनले देखाएको छ ।
वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको हुण्डी कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार २ जनवरी २०२५ देखि १६ जुलाई २०२६ सम्म हुण्डीसँग सम्बन्धित १ हजार ६७२ वटा शंकास्पद कारोबार तथा गतिविधिका प्रतिवेदन (एसटीआर/एसएआर) प्राप्त भएका छन् । उक्त अवधिमा विभिन्न कसुरसँग सम्बन्धित कुल १५ हजार ८१५ वटा प्रतिवेदन प्राप्त भएकामा हुण्डीसम्बन्धी प्रतिवेदन मात्रै १०.५७ प्रतिशत छन् ।
प्रतिवेदनअनुसार हुण्डीसम्बन्धी शंकास्पद कारोबारको ८९.८९ प्रतिशत प्रतिवेदन वाणिज्य बैंकहरूले गरेका छन् । विकास बैंकबाट १२०, वित्त कम्पनीबाट २८, रेमिट्यान्स कम्पनीबाट १३ तथा भुक्तानी सेवा प्रदायकबाट आठवटा प्रतिवेदन प्राप्त भएका छन् ।
एफआईयूले उक्त अवधिमा प्राप्त १ हजार ६७२ प्रतिवेदनमध्ये २०० वटाको नमुना छनोट गरी विस्तृत विश्लेषण गरेको थियो । अध्ययनले हुण्डी कारोबार अब नगदमा मात्रै सीमित नरहेको र औपचारिक वित्तीय प्रणालीकै विभिन्न माध्यम प्रयोग गरेर रकमको वास्तविक स्रोत तथा गन्तव्य लुकाउने प्रवृत्ति बढेको औंल्याएको छ ।
पाँच वर्षमा १९७ अनुसन्धान, २७३ करोडभन्दा बढी जफत
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा हुण्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएका छन् । तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १०३ वटा मुद्दामा अन्तिम फैसला भएको छ । ती मुद्दामा ३३१ जना व्यक्ति संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूबाट ३८७ करोड २ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । अनुसन्धानका क्रममा ३८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको, १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरिएको र २७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति अन्तिम रूपमा जफत भएको छ ।
हुण्डीसम्बन्धी अनुसन्धान आर्थिक वर्ष २०७८/७९ मा १८ वटा रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर ६० पुगेको छ । यसले तीन वर्षको अवधिमा अनुसन्धानको संख्या तीन गुणाभन्दा बढी भएको देखाउँछ ।
त्यस्तै, अदालतबाट अन्तिम फैसला भएका मुद्दामा प्रतिमुद्दा संलग्न व्यक्तिको औसत संख्या २०७८/७९ मा करिब १.९ रहेकोमा आर्थिक वर्ष २०८२/८३ को जेठसम्म आइपुग्दा ३.५३ पुगेको छ । एफआईयूले यसलाई व्यक्तिगत कारोबारभन्दा नेटवर्कमा आधारित हुण्डी गतिविधिको संकेतका रूपमा विश्लेषण गरेको छ ।
मधेश प्रदेशमा बढी जोखिम
एफआईयूको नमुना विश्लेषणअनुसार हुण्डीसम्बन्धी शंकास्पद कारोबारमा जोडिएका व्यक्तिमध्ये ५२.७६ प्रतिशत मधेश प्रदेशका छन् । विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा यस्तो गतिविधिको जोखिम बढी देखिएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार हुण्डीसम्बन्धी प्रतिवेदनमा जोडिएका कम्पनीमध्ये ४३ प्रतिशत खुद्रा व्यापार गर्ने फर्म र ४१.५ प्रतिशत रेमिट्यान्स सबएजेन्ट तथा रकम स्थानान्तरणसम्बन्धी व्यवसाय छन् । यी दुई क्षेत्रले कुल रिपोर्ट गरिएका फर्ममध्ये ८४ प्रतिशत हिस्सा ओगटेका छन् ।
त्यस्तै, हुण्डीसम्बन्धी प्रतिवेदनमा समेटिएका तीन चौथाइभन्दा बढी बैंक खाता सन् २०२२ पछि खोलिएका थिए । विद्यार्थी, गृहिणी तथा नियमित आम्दानी भएका व्यक्तिका नाममा खोलिएका खातासमेत ठूलो रकमको कारोबारमा प्रयोग भएको पाइएको छ । यस्तो प्रवृत्तिलाई एफआईयूले मनी म्युल अर्थात् अरूको अवैध कारोबारका लागि प्रयोग गरिने खाताको सम्भावित संकेत मानेको छ ।
कसरी सञ्चालन भइरहेको छ हुण्डी ?
एफआईयूको अध्ययनले नेपालमा हुण्डी सञ्चालनका आठवटा प्रमुख तरिका पहिचान गरेको छ । तीमध्ये म्युल खाता प्रयोग, विभिन्न बैंक खातामा टुक्र्याएर नगद जम्मा गर्ने र तत्काल अर्को खातामा पठाउने, नक्कली तथा आवरण कम्पनी प्रयोग, क्रिप्टोकरेन्सीमार्फत रकमको हिसाब मिलाउने, भौतिक नगद ओसारपसार, डिजिटल माध्यमबाट कारोबारको समन्वय, रेमिट्यान्स सबएजेन्टको प्रयोग तथा सुन तस्करीसँगको सम्बन्ध प्रमुख छन् ।
हुण्डीमा विदेशबाट नेपालमा रकम पठाउँदा वास्तविक पैसा सीमापार बैंकिङ प्रणालीबाट आउँदैन । विदेशमा रहेको हुण्डी एजेन्टले रकम संकलन गर्छ र नेपालमा रहेको एजेन्टलाई रकम भुक्तानी गर्न निर्देशन दिन्छ । नेपालमा रहेका परिवार वा लाभग्राहीले स्थानीय एजेन्टमार्फत रुपैयाँ प्राप्त गर्छन् । पछि ती एजेन्टबीच व्यापारिक कारोबार, नगद ओसारपसार वा अन्य माध्यमबाट हिसाब मिलाइन्छ ।
यसरी विदेशबाट आउने रेमिट्यान्स औपचारिक बैंकिङ प्रणालीमा नआउँदा विदेशी मुद्रा सञ्चितिमा समेत प्रभाव पर्न सक्छ । त्यस्तै, आयातमा वास्तविक मूल्यभन्दा कम भन्सार मूल्य घोषणा गर्ने व्यवसायीले बाँकी रकम हुण्डीमार्फत विदेशमा भुक्तानी गर्ने प्रवृत्तिसमेत रहेको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनले सुन तस्करी, अनलाइन जुवा तथा सट्टेबाजी, कर छली, ठगी र अन्य आर्थिक अपराधबाट प्राप्त रकमको व्यवस्थापनमा समेत हुण्डी प्रयोग हुन सक्ने जोखिम औंल्याएको छ ।
हुण्डी नियन्त्रणका लागि के गर्नुपर्छ ?
एफआईयू–नेपालले हुण्डी नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्था, नियामक निकाय, अनुसन्धान गर्ने निकाय र नीतिनिर्माताले छुट्टाछुट्टै जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाव दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले ग्राहकको नियमित कारोबारको निगरानी बढाउनुपर्ने, अस्वाभाविक नगद जम्मा तथा तत्काल रकम स्थानान्तरण हुने खाताको पहिचान गर्नुपर्ने र शंकास्पद कारोबारको विवरण तत्काल एफआईयूमा पठाउनुपर्ने प्रतिवेदनको सुझाव छ । एउटै मोबाइल नम्बर, ठेगाना वा डिभाइसबाट धेरै बैंक खाता तथा डिजिटल वालेट सञ्चालन भएको अवस्थासमेत पहिचान गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकको निगरानी कडा बनाउनुपर्ने, कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेसिन लर्निङमा आधारित कारोबार निगरानी प्रणाली प्रयोग गर्नुपर्ने र सीमावर्ती क्षेत्रमा कारोबार गर्ने सुनचाँदी व्यवसायी, मनी चेन्जर, रेमिट्यान्स एजेन्ट तथा आयात–निर्यात व्यवसायको जोखिममा आधारित निरीक्षण बढाउनुपर्ने सुझाव दिइएको छ ।
नेपाल प्रहरीले हुण्डीमा संलग्न रकम संकलन गर्ने व्यक्तिलाई मात्र पक्राउ गरेर अनुसन्धान टुंग्याउन नहुने एफआईयूको सुझाव छ । कारोबारको पछाडि रहेका मुख्य सञ्चालक, वित्तीय स्रोत उपलब्ध गराउने व्यक्ति, विदेशमा रहेका एजेन्ट र अन्तिम लाभग्राहीसम्म अनुसन्धान विस्तार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
नगदसहित पक्राउ परेका व्यक्तिको मोबाइल फोन तथा डिजिटल उपकरणको फरेन्सिक परीक्षण गरी कारोबारको सञ्जाल पत्ता लगाउनुपर्ने, क्रिप्टोकरेन्सी प्रयोग भएको अवस्थामा ब्लकचेन विश्लेषण गर्नुपर्ने र हुण्डीसँग जोडिएका कर छली, सुन तस्करी तथा अन्य अपराधको संयुक्त अनुसन्धान गर्नुपर्ने सुझावसमेत दिइएको छ ।
रेमिट्यान्सलाई औपचारिक माध्यममा ल्याउनुपर्ने
प्रतिवेदनले हुण्डी नियन्त्रणका लागि कानुनी प्रतिबन्ध र पक्राउ मात्रै पर्याप्त नहुने निष्कर्ष निकालेको छ । औपचारिक रेमिट्यान्स प्रणालीलाई सस्तो, छिटो र सहज बनाउनुपर्नेमा जोड दिइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंक तथा इजाजतप्राप्त रेमिट्यान्स कम्पनीमार्फत रकम पठाउँदा प्रतिस्पर्धी विनिमय दर, सहज डिजिटल सेवा र आवश्यक प्रोत्साहन उपलब्ध गराउनुपर्ने प्रतिवेदनको सुझाव छ ।
त्यस्तै, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र आन्तरिक राजस्व विभागबीच तथ्यांक आदानप्रदान तथा विश्लेषणको प्रणाली विकास गरी आयात–निर्यातमा हुने न्यून वा अधिक मूल्य घोषणा पहिचान गर्नुपर्ने उल्लेख छ । नेपाल–भारत सीमामा नगद घोषणा र नगद ओसारपसारसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न सशस्त्र प्रहरी, भन्सार प्रशासन र भारतीय निकायबीच सहकार्य बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।
हुण्डी नियन्त्रणका लागि सम्बन्धित निकायले समयसीमासहितको संयुक्त कार्ययोजना बनाउनुपर्ने, कानुनी सजायको प्रभावकारिता पुनरावलोकन गर्नुपर्ने र विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हुण्डीका जोखिमबारे सचेत गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
कानुनी प्रतिबन्ध भए पनि चुनौती कायमै
नेपालमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क ले हुण्डी कारोबारलाई कसुर मानेको छ । यस कसुरमा संलग्न रकम जफत तथा एक वर्षसम्म कैदको व्यवस्था रहेको एफआईयूको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २०८१ पुस १८ (२ जनवरी २०२५) को नेपाल राजपत्रको सूचनामार्फत हुण्डीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको पूर्वकसुरका रूपमा समेत सूचीकृत गरिएको छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले पनि नेपाल राष्ट्र बैंकबाट इजाजत नलिई विदेशी विनिमयको कारोबार गर्न रोक लगाएको छ ।
तर, कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि हुण्डी कारोबारले बैंकिङ प्रणाली र डिजिटल भुक्तानीका माध्यमसमेत प्रयोग गरिरहेको तथ्यले यसको नियन्त्रण थप जटिल बन्दै गएको देखाउँछ ।
एफआईयूको प्रतिवेदनले औंल्याएअनुसार हुण्डी अब संगठित, सीमापार र डिजिटल समन्वयमा आधारित गतिविधि बनेको छ । त्यसैले नियन्त्रणका लागि बैंकिङ निगरानी, वित्तीय अनुसन्धान, सीमावर्ती क्षेत्रमा नियन्त्रण, अन्तर्राष्ट्रिय सूचना आदानप्रदान र औपचारिक रेमिट्यान्स सेवालाई आकर्षक बनाउने काम एकसाथ अघि बढाउन आवश्यक देखिएको छ ।