काठमाडौं । सरकारले स्वदेशी उत्पादन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले निर्यातमूलक उद्योगलाई उत्पादनमा आधारित प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै तोकिएका वस्तु उत्पादन तथा निर्यात गर्ने उद्योगलाई अधिकतम १० प्रतिशतसम्म प्रोत्साहन दिने व्यवस्था गरेको हो ।
यसअघि सरकारले निर्यातको आधारमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रम अन्र्तगत व्यवसायीलाई ५ अर्ब ८० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले बताए ।
व्यवसायीहरुले पुरानै बक्यौता नपाएको अवस्थामा नयाँ कार्यक्रमबाट उत्साहित नभएको अध्यक्ष घिमिरेको भनाइ छ ।
नयाँ कार्यविधिअनुसार अनुसूची–१ मा समावेश वस्तु उत्पादन गर्ने उद्योग वा निर्यातकर्ताले उत्पादन तथा निर्यातको अवस्था र मूल्य अभिवृद्धिका आधारमा प्रोत्साहन रकम पाउनेछन्। यस्तो प्रोत्साहन चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा विनियोजित रकमको सीमाभित्र रहेर उपलब्ध गराइनेछ ।
प्रोत्साहन रकम निर्धारण गर्दा उद्योगले अघिल्लो आर्थिक वर्षमा बिक्री गरेको तोकिएका वस्तुको कुल बिक्री मूल्यलाई आधार मानिनेछ। त्यसमा मूल्य अभिवृद्धिका आधारमा तोकिएको प्रोत्साहन दर लागू हुनेछ। तर, कार्यविधिले तोकेको अधिकतम सीमाभन्दा बढी रकम उपलब्ध गराइने छैन।
मूल्य अभिवृद्धिका आधारमा प्रोत्साहन दर
कार्यविधिमा मूल्य अभिवृद्धिको अनुपातअनुसार फरक–फरक प्रोत्साहन दर निर्धारण गरिएको छ। जसअनुसार ९१ देखि १०० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने उद्योगले १० प्रतिशत प्रोत्साहन पाउनेछन्। त्यस्तै, ८१ देखि ९० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्नेले ८ प्रतिशत, ७१ देखि ८० प्रतिशतसम्मले ६ प्रतिशत, ६१ देखि ७० प्रतिशतसम्मले ४ प्रतिशत र ५० देखि ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने उद्योगले २ प्रतिशत प्रोत्साहन पाउने व्यवस्था छ।
उद्योगले प्राप्त गर्ने प्रोत्साहन रकमको गणना अघिल्लो आर्थिक वर्षमा बिक्री भएको तोकिएको वस्तुको कुल बिक्री मूल्य र सम्बन्धित प्रोत्साहन दरका आधारमा गरिनेछ। यसका लागि विदेशी कच्चा पदार्थको मूल्य कटाएर मूल्य अभिवृद्धि गणना गरिने कार्यविधिमा उल्लेख छ।
२२ प्रकारका वस्तु उत्पादन गर्ने उद्योग योग्य
कार्यविधिको अनुसूची–१ मा विभिन्न २२ प्रकारका वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन कार्यक्रममा समेटिएको छ। यसमा प्रशोधित चिया, कफी, अलैँची, अदुवा, बेसार, मह, फलफूल तथा तरकारीजन्य उत्पादन, दूध तथा दुग्धजन्य पदार्थ, खाद्य प्रशोधनजन्य उत्पादन, छालाका वस्तु, तार तथा केबल, प्राकृतिक रेशाजन्य वस्तु, हस्तकला, तयारी पोसाक, जुत्ता तथा चप्पल, प्रशोधित पत्थर र आयुर्वेदिक औषधिलगायतका वस्तु समावेश छन्।
प्रोत्साहन पाउन उत्पादनमा १० प्रतिशत वृद्धि अनिवार्य
कार्यविधिअनुसार प्रोत्साहन रकम प्राप्त गर्न उद्योग प्रचलित कानुनबमोजिम दर्ता भई नियमित नवीकरण भएको हुनुपर्नेछ। स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आधार वर्ष तथा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रसमेत आवश्यक पर्नेछ।
त्यस्तै, आधार वर्षको तुलनामा कम्तीमा १० प्रतिशत उत्पादन अभिवृद्धि हासिल गरेको हुनुपर्ने व्यवस्था छ। उद्योगले सरकारी बक्यौता बाँकी नरहेको तथा कालोसूचीमा नपरेको स्वघोषणासमेत गर्नुपर्नेछ।
प्रोत्साहन रकमका लागि उद्योग विभागले सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गर्नेछ। इच्छुक उद्योगले तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। प्राप्त आवेदनको मूल्याङ्कन उद्योग विभागले गठन गरेको समितिले गर्नेछ। समितिको सिफारिसका आधारमा विभागले प्रोत्साहन रकम प्राप्त गर्ने उद्योगको योग्यता स्वीकृत गर्ने व्यवस्था कार्यविधिमा छ।
स्वीकृत प्रोत्साहन रकम सम्बन्धित उद्योग वा निर्यातकर्ताको बैंक खातामा एकमुष्ट जम्मा गरिनेछ। कार्यक्रमको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि मन्त्रालय, उद्योग विभाग र नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहितको समन्वय समिति रहने व्यवस्था गरिएको छ।