काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पु¥याउने प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारले १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ भने उक्त रकमको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीको वार्षिक साधारणसभामा पेश गरिने भएको छ । कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्बीमा कम्पनीमा सरकारले थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गरेको थियो ।
कम्पनीको सञ्चालक समितिको मंसिर ११ गते बसेको ६३७ औं बैठकले सरकारबाट प्राप्त हुने १ अर्ब रुपैयाँको लगानीलाई आधार बनाएर हकप्रद शेयर निष्कासनमार्फत चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीले मंसिर ११ गते नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पठाएको पत्रअनुसार सरकारको विद्यमान शेयर स्वामित्व ४४ दशमलव ०३९ प्रतिशतभन्दा कम नहुने गरी पुँजी वृद्धि गरिनेछ ।
सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ शेयर लगानीका लागि प्राप्त हुने जानकारीसहितको पत्रका आधारमा उक्त रकमको अनुपातमा १६ दशमलव ९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाइएको कम्पनीले जनाएको छ ।
कम्पनीको कुल चुक्ता पुँजी २० अर्ब रुपैयाँ कायम गर्ने उद्देश्यले पुँजी वृद्धि गर्न लागिएको हो । सञ्चालक समितिको निर्णयअनुसार हकप्रद शेयर निष्कासनको प्रस्ताव अब वार्षिक साधारणसभाबाट स्वीकृत हुनुपर्नेछ ।
प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढ्नेछ ।
२०८२ माघ मसान्तसम्म नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पूँजी बढाएर २६ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने योजनाबमोजिम कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । पुनर्बीमा कम्पनीहरूले २० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको हो ।
कम्पनीको निर्णयपछि २०८२ साल असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले सरकारी लगानी व्यवस्थापनका लागि नेपाल सरकारको लगानी रहेका संस्थाहरूले हकप्रद वा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न रोक्का गर्ने निर्णय गरेको थियो ।
हाल १३ अर्ब ४२ कराेड पुँजी रहेकाे कम्पनीमा सरकारको ४४.०४ प्रतिशत लगानी छ । सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीमा बाँकी लगानी भने २० बीमा कम्पनीहरूसँगै ग्लोबल आइएमई क्यापिटल, गुहेश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेष्टमेन्ट, ग्लोबल आइएमई बैंक, सुप्रिम सिमेन्ट्स, आइएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सन्राइज बैंकको समेत लगानी रहेको छ ।