नयाँ स्वदेशी लगानीकर्ताबाट २६४ करोडभन्दा बढी पुँजी जुटाइने, पाँच लाख रुपैयाँभन्दा बढी निक्षेप भएका ग्राहकलाई पनि सेयरमा लगानीको अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनयोग्य र सबल बनाउने उद्देश्यसहित यसको पुँजी संरचनामा व्यापक परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले बैंकको ‘रिजोलुसन रणनीति, २०८३’ पारित गर्दै अनियमितता तथा रकम अपचलनमा संलग्न संस्थापक सेयरधनी र सञ्चालकहरूको स्वामित्व घटाउनेदेखि नयाँ लगानीकर्ता भित्र्याउनेसम्मका व्यवस्था गरेको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार बैंकको हालको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ । तर, बैंकमा अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिएको छ।
यसरी सेयर स्वामित्व घटाउँदा बैंकको कायम हुने चुक्ता पुँजी २९ करोड १ लाख ४ हजार १६० रुपैयाँ रहनेछ । राष्ट्र बैंकले यो कदमबाट बैंकमा अनियमितता र अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्व तथा प्रभाव घट्ने र भविष्यमा त्यस्ता गतिविधिबाट अनुचित लाभ लिन नसक्ने सन्देश जाने अपेक्षा गरेको छ ।
अधिकृत पुँजी ५ अर्ब पुर्याइने
बैंकको पुँजी आधार बलियो बनाउन राष्ट्र बैंकले अधिकृत पुँजी ६० करोड रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पु¥याउने निर्णय गरेको छ । यसका लागि थप ४ अर्ब ४० करोड रुपैयाँ पुँजी वृद्धि गरिनेछ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१) को खण्ड (ख) बमोजिम अपचलनमा संलग्न नभएका विद्यमान संस्थापक सेयरधनीलाई थप लगानीको अवसर दिइनेछ । यसबाट बैंकको पुनर्पुँजीकरण तथा पुनर्संरचनालाई अघि बढाउने राष्ट्र बैंकको योजना छ।
पुनर्पुँजीकरण तथा पुनर्संरचनापछि कायम हुने पुँजीको ६० प्रतिशत संस्थापक सेयर रहने गरी करिब २ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर नयाँ स्वदेशी लगानीकर्तामार्फत परिचालन गरिनेछ। स्वदेशी लगानीकर्ताबाट आवश्यक रकम जुट्न नसके विदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेपकर्तालाई पनि सेयरमा लगानीको अवसर
राष्ट्र बैंकको रणनीतिमा निक्षेपकर्तालाई समेत बैंकको पुँजीमा सहभागी गराउने व्यवस्था गरिएको छ । पाँच लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो त्यस्तो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम बराबरको संस्थापक सेयरमा स्वेच्छिक रूपमा लगानी गर्न सक्नेछन् । यसका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ । निक्षेपकर्ताले प्राप्त गरेको संस्थापक सेयरलाई प्रचलित कानुनबमोजिम सर्वसाधारण सेयर समूहमा परिणत गर्न सकिने व्यवस्था पनि गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
त्यसैगरी, संस्थापक लगानीकर्ता र निक्षेपकर्ताबाट पुँजी परिचालन गर्दा पनि लक्षित ५०० करोड रुपैयाँ चुक्ता पुँजी पूरा हुन नसके बाँकी रकम सर्वसाधारण समूहको सेयर जारी गरेर जुटाइनेछ।
सुशासन र निक्षेपकर्ताको हित संरक्षणमा जोड
राष्ट्र बैंकको रिजोलुसन रणनीतिको मुख्य उद्देश्य कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः जीवन्त, सबल र सुशासित संस्थाका रूपमा स्थापित गर्नु रहेको प्रवक्ता पौडेलले बताएका छन्।
अपचलनमा संलग्न व्यक्तिहरूको प्रभाव घटाउने, नयाँ लगानीकर्ता भित्र्याउने, निक्षेपकर्तालाई स्वेच्छिक रूपमा पुँजीमा सहभागी गराउने र बैंकको वित्तीय आधार सुदृढ बनाउने रणनीति लिइएको राष्ट्र बैंकको भनाइ छ ।
बैंकलाई २०८१ पुस १० गते राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको हो । राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएको २ वर्ष बित्न लाग्दा समेत अझै सर्वसाधारणको निक्षेप फिर्ता भने हुन सकेको छैन । जसको कारण निक्षेपकर्ताले आन्दोलन समेत गर्दै आएका छन् ।