काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ। भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार नवीन प्रविधिमा आधारित भुक्तानी तथा बैंकिङ सेवाको विकास र विस्तारमा गरेको योगदानको कदर गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
बैंकका अनुसार भिसाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराउने प्रयासको मूल्याङ्कन गर्दै दुई विधामा अवार्ड प्रदान गरिएको हो।
आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सहज र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मान प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको थियो।
त्यस्तै, बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गरेको छ। यसका अतिरिक्त ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत पाएको छ।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र र ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरमार्फत सेवा दिँदै आएको छ। बैंकका विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत छन्। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसले बैंकलाई आन्तरिक बैंकिङ सेवासँगै अन्तर्राष्ट्रिय भुक्तानी तथा विप्रेषण कारोबारमा समेत सक्रिय बनाएको छ।