काठमाडौं । चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले नेपाल बैंकर्स संघको नेतृत्व पाएका छन्। वाणिज्य बैंकका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स संघको शुक्रबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
संघको उपाध्यक्ष रहेका रेग्मी माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको स्थानमा अध्यक्ष बनेका हुन्। दुई कार्यकाल पूरा गरेपछि कोइराला नेतृत्वबाट बाहिरिएका छन्।
बैंकिङ क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव हासिल गरेका रेग्मीले आफ्नो व्यावसायिक यात्रा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट सुरु गरेका थिए। उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट बैंकिङ तथा वित्त विषयमा एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
ग्लोबल आइएमई बैंकमा भने रेग्मीले २०६५ सालमा नायब प्रबन्धकका रूपमा काम सुरु गरेका थिए। बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै उनी २०८१ भदौमा प्रमुख कार्यकारी अधिकृत बनेका हुन्।
चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक हो। निक्षेप, कर्जा तथा शाखा सञ्जालका आधारमा पनि बैंक अग्रणी स्थानमा छ। ठूलो बैंकको नेतृत्व गरिरहेका रेग्मीका लागि अब समग्र बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी थपिएको छ।
नेपाल बैंकर्स संघ बैंकिङ क्षेत्रको संस्थागत विकास, नीतिगत पैरवी तथा बैंकहरूबीच समन्वय गर्ने प्रमुख संस्था हो। संघले नेपाल राष्ट्र बैंक र सरकारसँग मौद्रिक नीति, वित्तीय नीति, ब्याजदर, तरलता व्यवस्थापन तथा कर्जा प्रवाहलगायतका विषयमा बैंकिङ क्षेत्रको सामूहिक धारणा प्रस्तुत गर्दै आएको छ। सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत संघमा आबद्ध छन्।
नयाँ नेतृत्वका लागि अहिलेको बैंकिङ वातावरण चुनौतीपूर्ण देखिएको छ। बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षाकृत कमजोर छ। कर्जा असुलीमा देखिएको समस्या, खराब कर्जाको बढ्दो दबाब र गैरबैंकिङ सम्पत्तिको भारले बैंकहरूको वित्तीय अवस्थामाथि चुनौती थपिरहेको छ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान र विभिन्न दबाब समूहका गतिविधिले पनि बैंकिङ क्षेत्रको व्यावसायिक वातावरण प्रभावित भइरहेको छ। यस्तो अवस्थामा कर्जा असुलीको वातावरण सुधार्ने, लगानीयोग्य स्रोतको प्रभावकारी उपयोग गर्ने र बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास कायम राख्ने विषय नयाँ नेतृत्वका प्राथमिकतामा पर्नुपर्ने देखिन्छ।
अर्कोतर्फ, राजनीतिक परिवर्तनपछि बनेको नयाँ सरकारसँग बैंकिङ क्षेत्रको सम्बन्धलाई प्रभावकारी बनाउने र नीतिगत सहकार्य अघि बढाउने अवसर पनि नयाँ कार्यसमितिसामु छ। बैंकिङ क्षेत्रका समस्या सरकार तथा नियामक निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्दै समाधानका लागि समन्वय गर्नु रेग्मी नेतृत्वको संघका लागि महत्त्वपूर्ण जिम्मेवारी हुनेछ।

यसैबीच, साधारणसभाले रिक्त उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाललाई चयन गरेको छ। यसअघि कार्यसमिति सदस्य रहेका खनालले उपाध्यक्षको जिम्मेवारी पाएका हुन्।
नयाँ कार्यसमितिमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य सदस्यका रूपमा प्रवेश गरेका छन्।