काठमाडौं । बागलुङको प्रमुख पर्यटकीय गन्तव्य ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् सेवा विस्तार गरेको हो ।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म निर्माण गरिएको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । उक्त फिडर सञ्चालनमा आएसँगै बोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् ।
राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेपछि यस क्षेत्रका उपभोक्ताले अब राष्ट्रिय ग्रिडबाट विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि स्थानीय बासिन्दा लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मा निर्भर थिए ।
राष्ट्रिय ग्रिडमा जोडिएसँगै ढोरपाटन उपत्यका र आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने तथा विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।
विद्युत् आपूर्तिमा सुधार भएपछि स्थानीय बासिन्दाको दैनिक जीवनसँगै पर्यटन व्यवसाय र क्षेत्रको समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने प्राधिकरणको विश्वास छ । विशेषगरी पर्यटकीय सम्भावना बोकेको ढोरपाटन क्षेत्रमा भरपर्दो विद्युत् सेवा उपलब्ध हुँदा पर्यटन पूर्वाधार तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले ढोरपाटन क्षेत्रका उपभोक्ताले अब जुनसुकै समयमा विद्युत् जडानका लागि आवेदन दिन सक्ने बताए । उनका अनुसार उपभोक्ताले बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरी विद्युत् सेवा लिन सक्नेछन् ।
यससँगै बागलुङ जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी क्षेत्र निसीखोला गाउँपालिका–५ स्थित निसिलढोर मात्र रहेको छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको प्रमुख मरासेनीले जानकारी दिए ।
उनका अनुसार निसिलढोरमा विद्युतीकरणका लागि अब ठेक्का प्रक्रिया अघि बढाइनेछ । उक्त क्षेत्रमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।