वि.सं. २०८३ मंसिर ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनकपुर–अयोध्या रेलसेवाले जोडिँदै नेपाल–भारतका दुई धार्मिक सहर, धार्मिक पर्यटन करिडोर बन्ने

जनकपुर–अयोध्या रेलसेवाले जोडिँदै नेपाल–भारतका दुई धार्मिक सहर, धार्मिक पर्यटन करिडोर बन्ने
अर्थटुडे
२०८३ कार्तिक ३०, आईतवार

काठमाडौं । रामायणकालीन धार्मिक सम्बन्धलाई रेलमार्गले जोड्ने गरी भारतले नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच साप्ताहिक रेलसेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । भारतीय रेल्वेको यो निर्णय कार्यान्वयनमा आए जनकपुर र अयोध्याबीच धार्मिक पर्यटनसँगै सीमापार यात्राका लागि नयाँ रेलमार्ग खुल्नेछ ।

भारतको रेल मन्त्रालयले नोभेम्बर १४ (शनिबार) सार्वजनिक गरेको विवरणअनुसार करिब ६०४ किलोमिटर लामो रेलसेवाले नेपालको जनकपुरधामलाई भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टसँग जोड्नेछ । मन्त्रालयले यसलाई भारत–नेपालबीचको सीमापार सम्पर्क विस्तार, धार्मिक पर्यटन प्रवद्र्धन र दुई देशबीचको मित्रता सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।

रामायण परम्परामा जनकपुरलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा लिइन्छ । यी दुई धार्मिक सहरबीच रेल सम्पर्क विस्तार गर्ने निर्णयले रामायणसँग सम्बन्धित धार्मिक पर्यटनलाई अन्तरदेशीय रूपमा जोड्ने सम्भावना बढाएको छ ।

भारतीय रेल मन्त्रालयका अनुसार प्रस्तावित रेलसेवाले बिहार र उत्तर प्रदेशका विभिन्न महत्वपूर्ण सहर तथा बजारलाई समेत समेट्नेछ । रेलका प्रमुख व्यावसायिक बिसौनीमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाम रहनेछन् ।

रेलसेवा सातामा एकपटक सञ्चालन गर्ने योजना छ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने मन्त्रालयले जनाएको छ । यसरी सञ्चालन हुने रेलसेवाले जनकपुर र अयोध्याबीचको धार्मिक यात्रालाई सहज बनाउनुका साथै बीचका सहरमा आवागमन गर्ने यात्रुलाई पनि नयाँ विकल्प उपलब्ध गराउनेछ ।

रामायण सर्किटलाई रेलमार्गबाट जोड्ने प्रयास

जनकपुर र अयोध्याबीच रेल सम्पर्क विस्तार हुनुको मुख्य महत्व धार्मिक पर्यटनसँग जोडिएको छ । दुवै देशका तीर्थयात्रीले रामायण परम्परासँग सम्बन्धित यी दुई प्रमुख धार्मिकस्थलको यात्रा एउटै रेलमार्गबाट गर्न सक्ने सम्भावना यसले खोल्नेछ ।

भारतीय रेल मन्त्रालयले नयाँ सेवाबाट तीर्थयात्री, पर्यटक तथा शिक्षा, व्यवसाय र पारिवारिक प्रयोजनका लागि यात्रा गर्ने यात्रुलाई लाभ पुग्ने जनाएको छ । यसले रामायणसँग सम्बन्धित पर्यटकीय सर्किटको विकास र प्रवद्र्धनमा समेत सहयोग गर्ने अपेक्षा गरिएको छ ।

जनकपुरको पर्यटन र स्थानीय व्यवसायमा अवसर

रेल सम्पर्क विस्तारले जनकपुरधामको पर्यटन क्षेत्रलाई समेत नयाँ अवसर दिन सक्ने देखिन्छ । भारतीय पर्यटक तथा तीर्थयात्रीको आवागमन बढेमा होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल एजेन्सी, स्थानीय व्यापार र हस्तकलासम्बन्धी व्यवसायमा सकारात्मक प्रभाव पर्न सक्छ ।

भारतीय रेल मन्त्रालयले रेलमार्ग आसपासका स्थानीय अर्थतन्त्रमा पर्यटन सञ्चालक, आतिथ्य क्षेत्र, स्थानीय व्यापारी तथा परम्परागत हस्तकलामा संलग्न व्यवसायीका लागि अवसर सिर्जना हुने अपेक्षा गरेको छ । सीमावर्ती बिहार र नेपालका समुदायबीच आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत रेलसेवाले योगदान पु¥याउने मन्त्रालयको भनाइ छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको बताइएकाे छ। रेलसेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ।

उद्घाटनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन।

प्रधानमन्त्री शाह मङ्सिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?