काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन् । सरकारले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न नवनियुक्त सीईओ सुवेदीलाई निर्देशन दिएका छन् ।
कृषि विकास बैंकमा तीन दशकभन्दा बढी अनुभव
सुवेदीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीबाट २०५३ सालमा सहायक पदबाट आफ्नो सेवा सुरु गरेका थिए । त्यसपछि कर्मचारी सञ्चय कोषको भैरहवा शाखामा समेत काम गरेका उनी २०५७ सालदेखि कृषि विकास बैंकमा आबद्ध भएका थिए ।
कृषि विकास बैंकमा उनले लेखा अधिकृतदेखि विभागीय प्रमुख, कम्पनी सचिव, प्रमुख क्रेडिट अधिकृत, प्रमुख सञ्चालन अधिकृत तथा मानव संसाधन तथा सेवा विभागको उपमहाप्रबन्धकसम्मको जिम्मेवारी सम्हालेका छन् ।
उनले २०७९ साल भदौदेखि कात्तिकसम्म बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए ।
बैंकमा रहँदा उनले कर्जा व्यवस्थापन, खराब कर्जा व्यवस्थापन, निक्षेप परिचालन, डिजिटल बैंकिङ, संस्थागत सुशासन, मानव संसाधन व्यवस्थापन तथा रणनीतिक योजना निर्माणमा काम गरेका छन् । कम्पनी सचिवका रूपमा कृषि विकास बैंकलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरेपछिका पहिलोदेखि ११औँ वार्षिक साधारणसभासम्मका प्रक्रियामा समेत उनको भूमिका थियो ।
बीमा र वित्तीय संस्थाको सञ्चालकको अनुभव
सुवेदीसँग बैंकिङबाहेक अन्य वित्तीय संस्थाको सञ्चालकका रूपमा काम गरेको अनुभव पनि छ । उनी हाल नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य छन् । यसअघि फण्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समितिको अध्यक्ष तथा साना किसान विकास लघुवित्त र डेप्रोक्स लघुवित्तको सञ्चालक सदस्यका रूपमा काम गरिसकेका छन् ।
त्यस्तै, कृषि विकास बैंकको कर्मचारी अवकाश कोषको सञ्चालक सदस्यका रूपमा करिब १२ अर्ब रुपैयाँको लगानी तथा कोष व्यवस्थापनसम्बन्धी जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।
सुवेदीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायबाट एमबीए गरेका छन् । उनले बीकम तथा बीएडसमेत पूरा गरेका छन् । बैंकिङ, बीमा, जोखिम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण र संस्थागत सुशासनसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा सहभागी भएका छन् ।
प्रतिक्रिया