वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बीमा प्राधिकरणकाे अध्यक्षमा नियुक्त

राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बीमा प्राधिकरणकाे अध्यक्षमा नियुक्त
अर्थटुडे
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले १४ महिनापछि नयाँ अध्यक्ष पाएको छ । सरकारले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथपछि अर्थमन्त्री वाग्लेले थापालाई बीमा क्षेत्रको साख वृद्धि गर्न निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए ।

२०८१ फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्ति भएका शरद ओझा २०८२ भदौ २ गते बर्खास्त भएपछि उक्त पद रिक्त थियो । सरकारले विभिन्न कर्मचारीलाई अध्यक्षको जिम्मेवारी तोक्दै प्राधिकरणलाई सञ्चालन गर्दै आएको थियो ।

ओझाले फर्जी अनुभव विवरण पेश गरी नियुक्ती लिएको पाइएपछि सरकारले बर्खास्त गरेको थियो ।

राष्ट्र बैंकमा २९ वर्षको अनुभव

केन्द्रीय बैंककाे कार्यकारी निर्देशक पदमा कार्यरत  थापा झण्डै तीन दशकदेखि कार्यरत छन् ।   उनले सन् १९९७ मा राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट सेवा सुरु गरेका थिए । सन् २०२५ देखि कर्पोरेट प्लानिङ तथा जोखिम व्यवस्थापन विभागको कार्यकारी निर्देशकका रूपमा काम गरेका थापाले त्यसअघि वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण तथा नियमनसम्बन्धी विभागमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्र बैंकमा उनले बैंक तथा वित्तीय संस्थाको नियमन, स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण, जोखिममा आधारित सुपरिवेक्षण, पुँजी पर्याप्तता, संस्थागत सुशासन र वित्तीय स्थायित्वसम्बन्धी काम गरेका छन् । बैंकहरूको वित्तीय अवस्था विश्लेषण, जोखिम मूल्यांकन तथा नियामकीय निर्देशन कार्यान्वयनको अनुगमनमा समेत उनको अनुभव छ ।

विशेषगरी बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन र संस्थागत सुशासनको विषयमा उनको व्यावसायिक तथा प्राज्ञिक अनुभव रहेको छ । उनले नेपाली बैंकिङ क्षेत्रमा कर्पोरेट सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभाव विषयमा भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उक्त उपाधिको समकक्षता त्रिभुवन विश्वविद्यालयमा मूल्यांकनको प्रक्रियामा रहेको बताइएको छ ।

बीमा क्षेत्रसँग पनि छ प्रत्यक्ष अनुभव

थापाको अनुभव बैंकिङ नियमनमा मात्रै सीमित छैन । उनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्य तथा लगानी समितिको संयोजकसमेत रहिसकेका छन् । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य तथा लगानी समितिको संयोजकको जिम्मेवारी पनि सम्हालेका छन् ।

यसले उनलाई बीमा कम्पनीको संस्थागत सञ्चालन, लगानी व्यवस्थापन, सञ्चालक समितिको भूमिका र वित्तीय जोखिमको विषयमा प्रत्यक्ष अनुभव दिएको छ ।

व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमफिल र कानुनमा स्नातक गरेका छन् । बैंकिङ तथा वित्तीय क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम र सेमिनारमा सहभागी भएका थापाले व्यवस्थापन शिक्षणमा समेत एक दशकभन्दा बढी समय बिताएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?