काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमास (साउन–असोज) मा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमालेख ६१.३ प्रतिशतले गिरावट आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ हजार ३११ वटा नयाँ बीमालेख जारी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८० हजार ९३९ वटा बीमालेख जारी भएका थिए ।
नयाँ बीमालेख संस्था घटेपनि बीमाशुल्क आम्दानी २२.१७ प्रतिशतले बढेको छ । कम्पनीले पहिलो त्रैमासमा २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ थियो ।
यस्तै चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १६ करोड १३ लाख रुपैयाँ भएको छ । गत आवको यसै अवधिमा १५ करोड २५ लाख रुपैयाँ रहेकोमा यस वर्ष नाफा ५.७९ प्रतिशतले बढेको हो ।
दाबी भुक्तानी बढ्यो, बाँकी दाबीको दायित्व पनि थपियो
कम्पनीको पहिलो त्रैमासमा दाबी भुक्तानी तथा बीमितलाई दिइने लाभसम्बन्धी खर्च १ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम १ अर्ब १३ करोड ४६ लाख रुपैयाँ थियो ।
त्यस्तै, बाँकी दाबीको संख्यामा पनि वृद्धि भएको छ । कम्पनीको विवरणअनुसार बक्यौता दाबी संख्या ४६३ पुगेको छ, जुन अघिल्लो वर्ष २५८ थियो । बक्यौता दाबीको रकम ९ करोड ८७ लाख रुपैयाँबाट बढेर १५ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी कम्पनीको जीवन बीमा कोष ५४ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो कोष १२ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै कम्पनीको कुल लगानी पनि ५० अर्ब ३१ करोड रुपैयाँबाट बढेर ५३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया