काठमाडौ । सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरिक्षक (आइजीपी) बाट हटाएर मनोज केसीलाई नियुक्त गरेको छ । केही दिनअघि मात्र दानबहादुरलाई हटाएर आफु आइजीपी बन्न लागेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएको केही दिनमा नै सरकारले केसीलाई आइजीपी नियुक्त गरेको हो । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको हो ।
पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । पछिल्लो समयमा पत्रकारहरुलाई समाचारकक्षबाटै लैजाने जस्ता विवादास्पद काम गरेको भन्दै सरकारले कार्कीलाई कारबाही स्वरुप महानिरिक्षक पदबाट हटाएको हो ।
कार्कीलाई बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।
प्रधानमन्त्री कार्यालयकी प्रेस विज्ञ दिपा दाहालका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
विगतका सरकारले पनि आइजीपीहरुलाई हटाएका थिए । यसअघि अच्युतकृष्ण खरेल र रमेश चन्द ठकुरी लाई तत्कालिन सरकारले हटाएर अर्को आइजीपी नियुक्त गरेको थियो ।
प्रतिक्रिया