काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ ।
एसोसिएसनका अध्यक्ष सागर ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीसँग भेट गरी कार्ययोजना तत्काल कार्यान्वयनमा लैजान आग्रह गरेको हो । भेटका क्रममा प्रतिनिधिमण्डलले सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको थियो ।
एसोसिएसनका अध्यक्ष ढकालले २१ बुँदे कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारमा देखिएका विद्यमान संरचनागत समस्या समाधान हुनुका साथै बजार थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बन्ने बताए । यसले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
उनले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । नीतिगत सुधारसँगै त्यसको व्यावहारिक कार्यान्वयन र संस्थागत समन्वयलाई समेत प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ढकालको आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिँदै नेप्सेका सीईओ सुवेदीले पुँजीबजारको विकास, सुधार र स्थायित्वका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्न नेप्से तयार रहेको बताए । उनले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
दुवै पक्षले पुँजीबजार सुधारका लागि नीतिगत परिवर्तनसँगै प्रभावकारी कार्यान्वयन, संस्थागत समन्वय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
सरकारले गत भदौमा सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनामा आईपीओ निष्कासन तथा मूल्य निर्धारण प्रणाली सुधार, ब्रोकर कम्पनीको संस्थागत सुदृढीकरण, नेप्सेको पुनर्संरचना, मार्जिन कारोबार, नयाँ वित्तीय उपकरणको विकास र संस्थागत लगानीकर्ताको सहभागिता विस्तारलगायतका विषय समेटिएका छन् ।
प्रतिक्रिया