वि.सं. २०८३ मंसिर ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकका गभर्नर पौडेलले एक वर्षमा लिए ४६ लाख ४९ हजार रुपैयाँ सुविधा, डेपुटी गभर्नर र सञ्चालकहरुलाई कति ?

राष्ट्र बैंकका गभर्नर पौडेलले एक वर्षमा लिए ४६ लाख ४९ हजार रुपैयाँ सुविधा, डेपुटी गभर्नर र सञ्चालकहरुलाई कति ?
अर्थटुडे
२०८३ मंसिर ३, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले गत आर्थिक वर्ष २०८२/८३ मा तलब, सञ्चालक समिति बैठक भत्ता तथा अन्य सुविधाबापत कुल ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन् ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गभर्नर पौडेलले उक्त अवधिमा तलबबापत १६ लाख ३२ हजार, सञ्चालक समिति बैठक भत्ताबापत ५ लाख ६७ हजार र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ लिएका हुन् ।

प्रतिवेदन अनुसार राष्ट्र बैंकले आव २०८२/८३ मा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरुको तलव, भत्ता र अन्य सेवा सुविधामा ३ करोड रुपैयाँ खर्च गरेको छ ।

राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यले प्रत्येक बैठकमा उपस्थित भएबापत ९ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ । कार्यकारी सञ्चालकका रूपमा रहेका गभर्नर तथा डेपुटी गभर्नरले तलबसँगै विभिन्न भत्ता तथा सुविधा पाउँछन् ।

सञ्चालक समितिका सबै सदस्यले भने इन्धन, सवारीसाधन मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सेवा र स्वास्थ्य उपचारलगायतका सुविधा पाउने व्यवस्था छ । वार्षिक प्रतिवेदनमा उल्लेखित ‘अन्य भत्ता तथा सुविधा’ शीर्षकमा यस्ता सुविधाको खर्च समेटिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको ७ सदस्यीय सञ्चालक समितिमा २ जना डेपुटी गभर्नर, अर्थसचिव पदने सञ्चालक हुने व्यवस्था छ । यसबाहेक ३ जना सञ्चालकको भने ऐनमा तोकिए अनुसार नियुक्ती हुँदै आएको छ ।

प्रतिवेदन अनुसार गत आवमा डेपुटी गभर्नर किरण पण्डितले सबैभन्दा बढी ६१ लाख ९८ हजार ९९५ रुपैयाँ लिएका छन् । उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार र अन्य सुविधा तथा भत्ताबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ बुझेका छन् ।

डेपुटी गभर्नरद्धय डा. नीलम ढुंगाना र बमबहादुर मिश्र २०८२ फागुनमा अवकास भएसँगै २०८२ चैतमा सरकारले पण्डितलाई नियुक्त गरेको थियो । गत आवमा उनले बुझेको तलव भत्तामा कार्यकारी निर्देशन हुँदाको समयमा भएको भुक्तानी पनि जोडिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्यका रूपमा रहेका तीन जनाले तलब नलिए पनि बैठक भत्ता र अन्य सुविधाबापत उल्लेख्य रकम बुझेका छन् ।

अर्थ सचिवको रुपमा राष्ट्र बैंकको सञ्चालकमा प्रतिनिधित्व गर्ने सचिव डा। घनश्याम उपाध्यायले गत आवमा बैठक भत्ताबापत ५ लाख ४० हजार र अन्य सुविधा तथा भत्ताबापत ३ लाख ४८ हजार १२० रुपैयाँ बुझेका छन् । सञ्चालकहरुमध्ये सबैभन्दा बढी डा. रविन्द्रप्रसाद पाण्डेले २९ लाख ११ हजार रुपैयाँ बुझेकोे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?