वि.सं. २०८३ मंसिर १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्जा छनोटदेखि असुलीसम्मको निगरानीले एभरेष्ट बैंकको खराब कर्जा १ % भन्दा तल

कर्जा प्रवाहअघि धितो र ऋणीको व्यावसायिक क्षमताको मूल्यांकन, प्रवाहपछि निरन्तर अनुगमन

कर्जा छनोटदेखि असुलीसम्मको निगरानीले एभरेष्ट बैंकको खराब कर्जा  १ % भन्दा तल
अर्थटुडे
२०८३ मंसिर १०, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ५ दशमलव ६४ प्रतिशत पुगेको छ । आर्थिक गतिविधिमा आएको सुस्ततासँगै कर्जा असुली प्रभावित हुनु र नयाँ कर्जा प्रवाह अपेक्षाकृत कमजोर रहँदा बैंकहरूको खराब कर्जामा दबाब बढिरहेको छ ।

तर, एभरेष्ट बैंक लिमिटेडले भने आफ्नो निष्क्रिय कर्जा अनुपात एक प्रतिशतभन्दा तल राख्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार २०८३ असोजमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ५० प्रतिशत छ । यो वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो ।

पछिल्लो एक दशकदेखि बैंकको निष्क्रिय कर्जा अनुपात एक प्रतिशतभन्दा तल रहँदै आएको छ । बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब बढिरहेका बेला पनि बैंकले त्यसलाई सीमित राख्न सकेको हो । कर्जा प्रवाहअघि ऋणीको आम्दानी, धितोको वास्तविक मूल्य र व्यवसायको जोखिम विश्लेषण गर्ने तथा कर्जा प्रवाहपछि ऋणीको व्यावसायिक गतिविधि र कर्जाको उपयोगमाथि निरन्तर निगरानी गर्ने अभ्यासले खराब कर्जा न्यून राख्न सहयोग गरेको बैंकको भनाइ छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात आव २०७२/७३ मा शून्य दशमलव ३८ प्रतिशत थियो । आव २०७७/७८ र २०७८/७९ मा यो घटेर शून्य दशमलव १२ प्रतिशतमा झरेको थियो । त्यसपछि आव २०७९/८० मा बढेर शून्य दशमलव ७९ प्रतिशत पुगे पनि पुनः घट्दो क्रममा छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ कर्जा प्रवाहअघि गरिने सूक्ष्म मूल्यांकन र प्रवाहपछि हुने निरन्तर अनुगमनलाई खराब कर्जा न्यून राख्नुको मुख्य आधार मान्छन् । उनका अनुसार बैंकले कर्जा स्वीकृत गर्नुअघि धितोको मूल्यांकन, ऋणीको आम्दानी र व्यवसायको जोखिमलाई प्राथमिकतामा राख्छ ।

‘हामीले कुनै पनि कर्जा प्रवाह गर्नुअघि धितोको मूल्यांकन राम्रोसँग गर्छौं । मूल्यांकनकर्ता पूर्ण रूपमा व्यावसायिक हुनुपर्छ भन्नेमा हाम्रो जोड छ । मूल्यांकनकर्ताले दिएको प्रतिवेदनलाई आधार मान्नुका साथै  बैंकका कर्मचारी आफैं पनि धितोको अवस्था बुझ्न स्थलगत निरीक्षणमा जान्छन्,’ खालिङले भने ।

उनका अनुसार कर्जा स्वीकृत गर्नुअघि बैंकको जोखिम व्यवस्थापन टोलीले ऋणीको आम्दानी, धितोको अवस्था र सञ्चालन गर्न लागेको व्यवसायको जोखिमसमेत विश्लेषण गर्छ । यसबाट ऋणीको कर्जा तिर्न सक्ने क्षमता र कर्जाको सुरक्षाबारे यकिन गर्ने प्रयास गरिन्छ ।

कर्जा स्वीकृत भएपछि पनि बैंकले ऋणीको अवस्थामाथिको निगरानीलाई निरन्तरता दिने गरेको छ । ऋणीले कर्जा स्वीकृत भएको प्रयोजनमै प्रयोग गरेको छ कि छैन, व्यवसायको अवस्था कस्तो छ र त्यसबाट प्राप्त आम्दानी कसरी उपयोग भइरहेको छ भन्ने विषयमा बैंकले अनुगमन गर्ने खालिङ बताउँछन् ।

‘कर्जा प्रवाह गरेपछि पनि ऋणीको व्यापार–व्यवसाय कस्तो भइरहेको छ, कर्जा कहाँ लगानी भएको छ, दुरुपयोग भएको छ कि छैन र व्यवसायबाट प्राप्त रकम कसरी प्रयोग भइरहेको छ भन्ने विषय हामीले नजिकबाट नियालिरहेका हुन्छौं । कर्जा पूर्ण रूपमा चुक्ता नहुँदासम्म ऋणीसँगको फलोअप जारी राख्छौं,’ उनले भने ।

बैंकले ऋणीको समस्या पहिचान गरी समाधानमा सहजीकरण गर्ने अभ्याससमेत गर्दै आएको उनको भनाइ छ । व्यवसायमा वास्तविक समस्या परेका ऋणीलाई आवश्यक सहयोग गर्ने तर तिर्न सक्ने अवस्था हुँदाहुँदै खराब नियतले कर्जा नतिर्ने ऋणीमाथि भने आवश्यक कारबाही गर्ने नीति बैंकले लिएको छ ।

यसरी कर्जा प्रवाहअघि ऋणीको क्षमता र धितोको मूल्यांकन, स्थलगत निरीक्षण, जोखिम विश्लेषण तथा कर्जा प्रवाहपछिको निरन्तर अनुगमनलाई एभरेष्ट बैंकले खराब कर्जा नियन्त्रणको आधार बनाएको देखिन्छ ।

पञ्जाब नेशनल बैंकको समेत लगानी रहेको एभरेष्ट बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड रुपैयाँ छ । बैंकले गत आवसम्म ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले १३३ शाखा, १५९ एटीएम, ३२ सरकारी राजस्व संकलन काउन्टर र पाँच एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । बैंकमा हाल १ हजार २२७ कर्मचारी कार्यरत छन् ।

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?