वि.सं. २०८३ मंसिर १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५ प्रतिशत ब्याजमै २५ लाखसम्म घर कर्जा दिँदै सहारा नेपाल

५ प्रतिशत ब्याजमै २५ लाखसम्म घर कर्जा दिँदै सहारा नेपाल
अर्थटुडे
२०८३ कार्तिक ३०, आईतवार

काठमाडौं । आफ्नै घर होस्, परिवारसँग सुरक्षित छानामुनि बस्न पाइयोस् र जीवनभर भाडाको घरमा बस्नुपर्ने बाध्यता अन्त्य होस् भन्ने चाहना धेरै परिवारको हुन्छ । तर, महंगो ब्याजदर, बढ्दो जग्गा तथा निर्माण सामग्रीको मूल्य र आम्दानीको सीमितताका कारण आफ्नै घर बनाउने सपना धेरैका लागि अझै चुनौतीपूर्ण छ । यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘मेरो आफ्नै घर कर्जा’ योजना सार्वजनिक गरेको हाे ।

संस्थाले ‘हाम्रो आफ्नै घर होस्’ अभियानअन्तर्गत ल्याएको यस योजनामा सदस्यले अधिकतम २५ लाख रुपैयाँसम्म घर कर्जा लिन सक्नेछन् । कर्जाको ब्याजदर वार्षिक ५ प्रतिशत निर्धारण गरिएको छ भने भुक्तानी अवधि अधिकतम २० वर्षसम्म रहनेछ । यस याेजना अन्तर्गत सुरुका ६ महिनासम्म साँवा भुक्तानीमा ग्रेस अवधि उपलब्ध गराइने सुविधा छ ।

घर निर्माणका लागि एकैपटक ठूलो रकम जुटाउन नसक्ने तर नियमित आम्दानीबाट किस्ताबन्दीमा कर्जा भुक्तानी गर्न सक्ने परिवारलाई लक्षित गरी योजना ल्याइएको संस्थाले जनाएको छ ।

सहकारी रजिष्ट्रारकाे कार्यालयले हाल सहकारीले ऋणमा लिन पाउने अधिकतम ब्याजदर सीमा (सन्दर्भ ब्याजदर) १३ प्रतिशत ताेकेकाे छ । सहकारीमा तरलता पर्याप्त रहेकाे तथा जगेडा काेषमा रहेकाे रकम लगानी गर्ने उदेश्यले याेजना अघि सारिएकाे संस्थाले जनाएकाे छ ।

दुई वर्षसम्म स्थिर ब्याजदर, २० वर्षसम्म भुक्तानी सुविधा

सहाराको घर कर्जा योजनामा ५ प्रतिशत ब्याजदर दुई वर्षसम्म स्थिर रहने व्यवस्था  छ । यसले कर्जा लिने सदस्यलाई सुरुवाती दुई वर्षसम्म ब्याजदर परिवर्तनको जोखिमबाट राहत दिनेछ ।

बैंक तथा वित्तीय संस्थाबाट घर कर्जा लिँदा ब्याजदरमा हुने परिवर्तनले दीर्घकालीन किस्ता योजनामा असर पार्न सक्छ । यस्तो अवस्थामा दुई वर्षसम्म स्थिर ब्याजदरको व्यवस्था सदस्यका लागि सुरुवाती वित्तीय योजना बनाउन सहज हुने बताइएको छ ।

त्यस्तै, २० वर्षसम्मको भुक्तानी अवधिले कर्जालाई लामो समयसम्म किस्ताबन्दीमा तिर्ने सुविधा दिन्छ । सुरुका ६ महिनासम्म साँवा भुक्तानीमा ग्रेस अवधि उपलब्ध गराइएकाले घर निर्माणको प्रारम्भिक चरणमा सदस्यलाई केही वित्तीय सहजता हुने संस्थाले जनाएको छ ।

सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार संस्थाले जगेडा कोषमा रहेको एक अर्ब रुपैयाँबाट समेत घर कर्जा योजनाका लागि रकम परिचालन गर्ने योजना बनाएको छ । सदस्यको आवासीय आवश्यकता पूरा गर्न सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले नयाँ कर्जा उत्पादन ल्याइएको उनको भनाइ छ ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था कोशी प्रदेशका छ जिल्लामा कार्यक्षेत्र भएको संस्था हो । सदस्य संख्या तथा ऋण कारोबारका आधारमा यो देशका ठूला बचत तथा ऋण सहकारी संस्थामध्ये एक हो ।

एक अर्ब ७० करोड शेयर पुँजी रहेको संस्थाको जगेडा कोषको आकार एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ । संस्थाको कोषको आकार बलियो हुँदै गएपछि सदस्यहरुका लागि सस्तो व्याजदरमा कर्जा योजना सार्वजनिक गरेको हो ।

२०८३ असोजसम्म १५ अर्ब ७७ करोड बचत संकलन गरेको संस्थाले १३ अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ ।

एक लाख ९९ हजार सदस्य रहेको संस्थाले ६५ हजारलाई कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?