काठमाडौं । कर्जा प्रवाह नभई लगानीयोग्य पुँजी थुप्रिएसँगै बैंक, वित्तीय संस्थाहरुको ब्याजदर घट्ने क्रम जारी छ । मंसिर महिनामा बाणिज्य बैंकहरुले निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ४ प्रतिशत भन्दा तल झरेको छ ।
बैंकहरुले सोमबार प्रकाशित गरेको सूचना अनुसार मंसिर महिनाका लागि बाणिज्य बैंकहरुको निक्षेपको अधिकतम औसत ब्याजदर शुन्य दशमलव १० प्रतिशत विन्दुले घट्दा ३ दशमलव ९१ प्रतिशतमा झरेको छ । कात्तिकमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा औशत ४ दशमलव ०१ प्रतिशत ब्याज दिदै आएका छन् ।
मंसिरमा ६ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा बढी माछापुच्छ्रे बैंकले एक प्रतिशत विन्दुले घटाएको छ । १४ वटा बैंकहरुको ब्याजदर भने स्थिर छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले हरेक महिना लागू गर्ने ब्याजदर अघिल्लो दिन सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्छ । यसैगरी ब्याजदर एकपटकमा १० प्रतिशत मात्र घटबढ गर्न सक्ने व्यवस्था छ ।
यस्तै बैंकहरुले कल बाहेकका स्वदेशी मुद्राका निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले र बचत खाताहरुमा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दु भन्दा बढीले फरक पार्न पाइदैन ।
प्रतिक्रिया