काठमाडौं । सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस ब्राण्ड’ वितरणमा आर्थिक चलखेल भएको विषयमा संघिय सहकारी विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सँग स्पष्टिकरण सोधेको छ । दोलाखास्थित मिलिजुली कालिञ्चोक सहकारी संस्थालाई एक्सेस ब्राण्ड प्रदान गर्दा र संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको पुरस्कार दिँदा आर्थिक चलखेल भएको समाचार प्रकाशित भएपछि विभागले १५ दिने समय दिएर स्पष्टिकरण सोधेको हो ।
विभागले सोमबार नेफ्स्कूनलाई पत्र पठाएर मिलिजुली कालिञ्चोक सहकारी संस्थालाई एक्सेस ब्राण्ड दिदा आर्थिक अपचलन भएको र प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको पुरस्कार दिदा संघका उच्च व्यवस्थापकद्धारा आर्थिक चलखेल भएको विषयमा समाचार सार्वजनिक भएको भन्दै त्यसबारे यथार्थ जानकारी गराउन निर्देशन गरेको छ ।
यसैगरी विभागले मिलिजुली कालीञ्चोक सहकारी संस्थालाई समेत बचत तथा ऋण कारोबारमा अपचलन भएको, संस्थाको आन्तरिक नियन्त्रण र सुशासन प्रणाली खस्कीएको, विना धितो कर्जा प्रवाह गरेको, नियम वितरित सेवाशुल्क लिएको, एक्ससेस ब्राण्ड र उत्कृष्ट व्यवस्थापकको पुरस्कार लिन आर्थिक चलखेल गरेको, संस्था एकिकरण गर्दा अनियमितता गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको छ ।
दैनिक नेपाल अनलाईनले शनिबार मिलिजुली कालिञ्चोक सहकारीमा भएको अनियमितताको विषयमा समाचार प्रकाशित गरेको थियो । समाचारमा सहकारीमा करोडौं रूपैयाँ अपचलन गरेको, संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईश्वर न्यौपानेले योजनाबद्ध ढंगले संस्थामा वर्षौंदेखि आन्तरिक लुट मच्चाएको आरोप लगाइएको छ । यस्तै एक्सेस ब्राण्ड लिन योग्यता नपुग्दै सीईओ न्यौपानेले नेफ्सकुनका अधिकारीलाई २० लाख रूपैयाँ घुस खुवाएको र उनीहरूकै सहयोगमा छलछाम गर्दै सबै सूचक पूरा गराइ ब्राण्ड किनेको, संस्थाहरू एकीकरण गर्दा ती संस्थाका सञ्चालकलाई मोटो रकम दिई प्रलोभनमा पारी एकीकरणको घोषणा गर्ने गरेको, संस्थाको स्रोतसाधन दुरुपयोग गरेको, सहकारी मन्त्री र सहकारी विभागका रजिष्ट्रारलाई समेत आर्थिक प्रलोभनमा पार्ने गरेको, नेफ्स्कूनले न्यौपानेलाई पुरस्कृत गर्दा उच्च तहका कर्मचारी दुर्गा ढकाल र शिवजी सापकोटालाई राम्रै पैसा खुवाएको समाचारमा उल्लेख गरिएको छ ।
समाचारबारेमा हालसम्म कालिञ्चोक सहकारी र नेफ्स्कूनले कुनै प्रतिक्रिया दिएको छैन ।
जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका पदाधिकारीले भने समाचारमा उल्लेख गरेको विषयमा संस्थाका कुनै पदाधिकारीले प्रतिक्रिया नदिएको भन्दै विज्ञप्ती जारी गरिसकेको छ ।
प्रतिक्रिया