काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज (कात्तिक ११ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा दुवै समूहका लागि कुल २१ लाख १२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्रअन्तर्गत दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ । यी वडाबाहेक बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि ६ लाख ७६ हजार कित्ता सेयर छुट्याइएको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले यस समूहका लागि छुट्याइएको सेयरको कुल मूल्य ४ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ । सरकारले सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् ।
आवेदन दिने समयसीमा
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्कासन बन्द हुने मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले बिक्री प्रबन्धकको कार्यालयसँगै नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट पनि आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाले सेयर खरिद आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन् । उनीहरूका लागि मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिने सुविधा पनि उपलब्ध छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले दोलखा जिल्लामा कुल २५.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन गरिरहेको छ । कम्पनीको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजनाले २०८२ असोज २५ गतेदेखि र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजनाले २०८२ मंसिर २२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।
कम्पनीका अनुसार २० मेगावाट क्षमताको साँगु खोला आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ छ । त्यस्तै, ५.५ मेगावाट क्षमताको साँगु खोला–१ आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख छ ।
गत आर्थिक वर्ष २०८२/८३ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.५ रुपैयाँ र प्रतिशेयर आम्दानी १५ .४८ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी जनाएकाे छ ।
कम्पनीले चालु आर्थिक वर्षमा सञ्चित नाफा ३ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरेको छ । जसबाट प्रतिशेयर नेटवर्थ १२१ .११ रुपैयाँ र प्रतिशेयर आम्दानी १८ .१७ रुपैयाँ कायम हुने कम्पनीको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया