काठमाडौं । सहकारी ऐनले एउटै व्यक्तिलाई एकै समयमा एकभन्दा बढी सहकारी संघसंस्थाको सञ्चालक बन्न रोक लगाए पनि राष्ट्रिय सहकारी महासंघसहित अधिकांश केन्द्रीय सहकारी संघले कानुनी व्यवस्था कार्यान्वयन गर्न अटेरी गरेका छन् । सहकारी विभागले पछिल्लो पटक गत असोज २ गते निर्देशन जारी गर्दै दोहोरो जिम्मेवारीमा रहेका सञ्चालकलाई एक पदबाट राजीनामा गरी विवरण बुझाउन भने पनि अधिकांश संघले अहिलेसम्म बुझाएका छैनन् ।
सहकारी विभागका अनुसार निर्देशनअनुसार राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ, जुनार केन्द्रीय सहकारी संघ, नेपाल केन्द्रीय जडीबुटी सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र केन्द्रीय चिया सहकारी संघले मात्रै विवरण बुझाएका छन् । निर्देशन जारी भएको झन्डै एक महिना बितिसक्दा पनि राष्ट्रिय सहकारी महासंघसहित अन्य संघले भने विवरण बुझाएका छैनन् ।
विवरण बुझाएका संघमध्ये नेफ्स्कूनले आफ्ना सात जना सञ्चालक दोहोरो पदमा रहेको जानकारी विभागलाई गराएको छ । बाँकी सहकारी बैंक सहित केन्द्रीय संघहरुले भने आफ्ना सञ्चालक दोहोरो जिम्मेवारीमा नरहेको विवरण बुझाएको विभाग स्रोतले जनाएको छ ।
सहकारी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनमा दोहोरो जिम्मेवारी लिएका सञ्चालकलाई राजिनामा गराएको थियो । यसैगरी बैंकले निर्वाचन निर्देशिकामा समेत निर्वाचित भएको ७ दिनभित्र अर्को पदबाट राजीनामा गरी प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिसकेको छ ।
नेफ्स्कूनका सात जना सञ्चालक दोहोरो पदमा रहेको जानकारी आएपछि विभागले उनीहरूलाई कानुनअनुसार कारबाही गर्न १५ दिनको समय दिएर पत्र पठाएको छ ।
महासंघसहित अधिकांश संघले बुझाएनन् विवरण
सहकारी विभागले राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय विषयगत सहकारी संघहरूलाई निर्देशन जारी गर्दै दोहोरो पदसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न र त्यसको विवरण पठाउन भनेको थियो । तर, निर्देशनपछि पनि अधिकांश संघले बेवास्ता गरेका छन् ।
निर्देशन पालना नगर्ने संघमा महासंघसहित कृषि, दुग्ध, उपभोक्ता, तरकारी तथा फलफूल, मौरीपालन, कफी, उखु उत्पादक, स्वास्थ्य, विद्युत्, बीउबिजन, पशुपन्छी पालन तथा मत्स्य, सुपारी र पर्यटन क्षेत्रका केन्द्रीय सहकारी संघ छन् ।
सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संघसंस्थाको सञ्चालक हुन नपाउने व्यवस्था छ । कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि केन्द्रीय तहका सहकारी संघका पदाधिकारीबाटै यसको पालना नहुनुले नियमन र कानुन कार्यान्वयनमाथि प्रश्न उठाएको छ ।
आठ वर्षदेखि कार्यान्वयन भएन ऐनको व्यवस्था
सहकारी ऐन, २०७४ लागू भएको आठ वर्ष बितिसक्दा पनि ‘एक व्यक्ति–एक सञ्चालक पद’ को व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । सहकारी विभागले यसअघि पनि पटक–पटक निर्देशन जारी गरे पनि दोहोरो पदको समस्या समाधान हुन सकेको छैन ।
यसअघि २०८१ असार १९ गते तत्कालीन सहकारी रजिस्ट्रार पिताम्बर घिमिरेले निर्देशन जारी गर्दै एक महिनाभित्र दोहोरो पदसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न भनेका थिए । निर्देशन पालना नगरे कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।
तर, निर्देशन जारी भएको एक सातामै राष्ट्रिय सहकारी महासंघले असार २५ गते तत्कालीन रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाउँदै उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने धारणा राखेको थियो । महासंघले सहकारी मन्त्रीसमक्ष समेत निर्देशन फिर्ता गराउन दबाब दिएको थियो । सोही दिन नेकपा एमालेको सहकारी विभागले पनि विज्ञप्ति जारी गर्दै दोहोरो पदसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको थियो ।
त्यसपछि विभागले साउन २४ गते अर्को निर्देशन जारी गर्दै व्यवस्था कार्यान्वयनका लागि पुस मसान्तसम्मको समय दिएको थियो । तर, थपिएको समयसीमा सकिएपछि पनि प्रभावकारी कार्यान्वयन हुन सकेन । समयसीमा थप्ने र पुनः निर्देशन जारी गर्ने क्रम चलिरहँदा कानुनी व्यवस्था भने व्यवहारमा कार्यान्वयन हुन सकेन ।
विभागले दुई वर्षअघि नै गरेको थियो स्पष्ट व्याख्या
दोहोरो पदसम्बन्धी व्यवस्था स्पष्ट नभएको भन्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले २०८० मंसिर ८ गते सहकारी विभागसँग व्याख्या माग गरेका थिए । त्यसको जवाफमा विभागले मंसिर २० गते कुनै व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने स्पष्ट पारेको थियो ।
विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा प्रारम्भिक सहकारी संस्था वा जिल्ला तथा प्रदेशस्तरीय विषयगत संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई पदको शपथ ग्रहण गरेपछि पहिले कायम रहेको संस्थाको सञ्चालक पद स्वतः नरहने उल्लेख गरिएको थियो ।
यसरी कानुनको व्याख्यासमेत स्पष्ट भइसकेको अवस्थामा दोहोरो पद कायम रहनुले समस्या कानुनी अस्पष्टताभन्दा कार्यान्वयनसँग जोडिएको देखिन्छ । कानुनको ब्याख्या गराएकै नेफ्स्कूनमा यसको कार्यान्वयन हुन सकेको छैन ।
निर्देशन कार्यान्वयनमा चुनौती
विभागले ऐनका व्यवस्था कार्यान्वयन गर्न पटक पटक निर्देशन जारी गर्दै आएपनि राजनीतिक संरक्षणमा सहकारी नेताहरुले अटेरी गर्दै आएका छन् । पछिल्लो निर्देशनपछि पनि अधिकांश संघले विवरण नबुझाउँदा विभागले अब कस्तो कदम चाल्छ भन्ने प्रश्न उठेको छ । नेफ्स्कूनका सात जना सञ्चालक दोहोरो पदमा रहेको विवरण प्राप्त भएपछि विभागले कारबाहीका लागि १५ दिनको समय दिएर पत्र पठाएको छ । तर, निर्देशन पालना नगर्ने अन्य संघका हकमा विभागले के गर्ने भन्ने विषय अझै स्पष्ट भएको छैन ।
सहकारी विभागका रजिस्ट्रार बाबुराम गौतमले यसअघि दोहोरो पदसम्बन्धी व्यवस्था कार्यान्वयन नभए मन्त्रालयसँग समन्वय गरेर आवश्यक निर्णय लिने बताएका थिए । केही संघले व्यवस्था कार्यान्वयन गरिसकेको र बाँकीका हकमा कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।
सहकारीमा दोहोरो जिम्मेवारीबारे अर्थटुडे कभरेजहरू पढ्नु्होस् :-
सहकारी ऐनको व्यवस्था ८ वर्षदेखि बेवारिसे, विभागको निर्देशन कागजमै सीमित
तीन रजिष्ट्रार फेरिए, दोहोरो पद लिने नेतालाई भएन कारवाही
सहकारीमा ऐन विपरित दोहोरो पद कायमै, आफ्नै निर्देशन कार्यान्वयन गर्न विभाग असफल
सहकारीमा दोहोरो पद हटाउन सरकार असक्षम, निर्देशन कार्यान्वयन गर्न फेरी पुससम्मको समय
महासंघमै वरिष्ठ उपाध्यक्षसहित अधिकांश संचालक ऐन विपरित दोहोरो पदमा, सहकारी विभाग मुकदर्शक
सञ्चालकहरुको दोहोरो पदबारे विभागद्धारा बैंक र नेफ्स्कूनसँग स्पष्टिकरण
राष्ट्र बैंकको निर्देशनपछि सहकारी बैंकका ५ सञ्चालक बाहिरीए
प्रतिक्रिया