काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीले बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने भएको छ । संस्थाले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुर मध्ये कुनै जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्न कम्तिमा एक सय रोपनी जग्गा खरीद गर्ने प्रक्रिया अगाडी बढाएको संस्थाको २३ औं बार्षिक साधारण सभामा प्रबन्ध निर्देशक सिताराम काफ्लेले जानकारी दिए ।
संस्थाले सहकारी विभागले जारी गरेको साधारण सभा निर्देशिका बमोजिम शनिबार भर्चुअल रुपमा साधारण सभा गरेको छ । सभामा अध्यक्ष भानुभक्त ढकालले बार्षिक प्रतिवेदन पेश गर्र्दै आर्थिक वर्ष ०७६/०७७ मा शेयर पुँजी ६ करोड ६४ लाख, ९६ करोड ७४ लाख ६८ हजार निक्षेप, र ८५ करोड ९६ लाख कर्जा लगानी गरेको जानकारी दिए ।
संस्थाले हाल बुढानिलकण्ठ, फर्पिङ बजार, साँखु जितपुरफेदी (तीनपिप्ले) मा सेवाकेन्द्र स्थापना गरी कारोबार संचालन गरिरहेको र चाँडै नै ललितपुर, भक्तपुर, थानकोट, जोरपाटी, बत्तिसपुतली र पुतलिसडकमा सेवा केन्द्र बिस्तार गर्न लागेको छ ।
प्रवन्ध निर्देशक काफ्लेले बत्तीसपुतलीस्थित मणीपुर बचत तथा ऋण सहकारी संस्था र पुतलिसडक स्थित अर्वन बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण सम्झौता भइसकेको र अन्य संस्थाहरुपनि एकिकरण गरी वित्तिय सेवाका साथै कृषि उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने र पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताए ।
२०७० साल देखि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको संस्थाले ३७९ केन्द्र र ४३५० जना सदस्य आवद्ध रहेको जनाएको छ ।
संस्थाले एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, रोयल स्मार्ट एप, मोवाइल बैंकिङ तथा एटिएम सिस्टम र रेमिटेन्स सेवा दिदै आएको छ ।

प्रतिक्रिया