वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीनको पुनरागमनले नेपाली पर्यटनमा नयाँ आशा, सार्क बजार भने खुम्चियो

चीनको पुनरागमनले नेपाली पर्यटनमा नयाँ आशा, सार्क बजार भने खुम्चियो
अर्थटुडे
२०८३ श्रावण १८, सोमबार

काठमाडौं ।  नेपालमा विदेशी पर्यटक आगमन बढ्दो क्रममा रहे पनि यस वर्षको पर्यटन बजारमा एउटा नयाँ प्रवृत्ति स्पष्ट देखिएको छ। भारतीय पर्यटक अझै पनि सबैभन्दा ठूलो स्रोत बजार रहे पनि चिनियाँ पर्यटकको तीव्र पुनरागमनले नेपालको पर्यटन उद्योगलाई नयाँ आशा दिएको छ भने सार्क मुलुकबाट आउने पर्यटकको संख्या भने घट्दो देखिएको छ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२६ को पहिलो सात महिनामा ६ लाख ९२ हजार २२८ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत (४४ हजार ३४६ जना) बढी हो। सात महिनामध्ये सबैभन्दा धेरै पर्यटक मार्चमा १ लाख २० हजार ५१६ जना आएका थिए भने मनसुनका कारण जुलाईमा ७१ हजार ७७५ जनामा सीमित भएको छ।  यद्यपि जुलाई महिनामा पनि पर्यटक आगमन २.३ प्रतिशत बढेको छ।

समग्र आगमनमा भारत पहिलो स्थानमा कायम छ। जुलाईमा मात्रै २३ हजार ४९० भारतीय पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो।

तर सबैभन्दा उल्लेखनीय वृद्धि भने चीनबाट देखिएको छ। जुलाईमा ११ हजार ९९ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६१.०९ प्रतिशत बढी हो। अझ रोचक पक्ष के छ भने यो संख्या कोभिडअघि सन् २०१९ को जुलाईमा आएको १० हजार २१५ को स्तरसमेत पार गर्दै ८.६५ प्रतिशत माथि पुगेको छ। यसले चिनियाँ बजार नेपालका लागि पुनः बलियो बन्दै गएको संकेत गरेको छ।

अमेरिका ७ हजार ७५४ पर्यटकसहित तेस्रो ठूलो स्रोत बजार बनेको छ। त्यसपछि बंगलादेश, बेलायत र अस्ट्रेलिया क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन्।

क्षेत्रगत विश्लेषणले भने मिश्रित तस्वीर देखाउँछ। जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ पर्यटक नेपाल आए, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। तर यो संख्या गत वर्षको तुलनामा ११.९३ प्रतिशतले कम हो। भारतबाहेक भुटान, श्रीलंका र माल्दिभ्सबाट आउने पर्यटक घटेका छन् भने पाकिस्तानबाट आउने पर्यटकमा सामान्य वृद्धि भएको छ।

यता दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट आउने पर्यटक भने ३३.०५ प्रतिशत ले बढेका छन्। चीनसँगै दक्षिण कोरिया, मलेसिया, जापान, भियतनाम, सिंगापुर, म्यानमार र थाइल्यान्डबाट पनि उल्लेख्य संख्यामा पर्यटक नेपाल आएका छन्।

युरोपबाट जुलाईमा ९ हजार २७९, अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ तथा अफ्रिकाबाट ३२४ पर्यटक नेपाल आएका छन्।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार चिनियाँ बजारको तीव्र पुनरागमन र अन्य एसियाली मुलुकबाट बढ्दो आगमनले नेपालको पर्यटन उद्योगलाई थप गति दिन सक्ने संकेत देखिएको छ। तर सार्क बजारमा आएको गिरावटलाई सम्बोधन गर्न लक्षित पर्यटन प्रवर्द्धन रणनीति आवश्यक पर्ने देखिन्छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?