वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निष्क्रिय

आयोगको सुझाव– ‘कार्गो केन्द्रका रूपमा विकास गरियोस्’

आयोगको सुझाव– ‘कार्गो केन्द्रका रूपमा विकास गरियोस्’
अर्थटुडे
२०८२ कार्तिक १९, बुधबार

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका दुई वर्ष बित्दा पनि अपेक्षित यात्रु चाप नपाएपछि सरकारी अध्ययन आयोगले यसलाई कार्गो केन्द्रका रूपमा रूपान्तरण गर्ने सुझाव दिएको छ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय आयोगका अनुसार, अहिलेको अवस्थामै नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन व्यावसायिक दृष्टिले लाभदायक देखिँदैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान संख्या बढाउने प्रयास गरे पनि आर्थिक रूपमा टिकाउ हुन नसकेको आयोगको निष्कर्ष छ।

तर, आयोगले विमानस्थलको स्थान र पूर्वाधारको उपयोगितालाई ध्यानमा राख्दै यसलाई निर्यातमुखी विमानस्थल बनाउने सम्भावना उच्च रहेको बताएको छ। “त्रिभुवन विमानस्थलमा निर्यातजन्य वस्तुको चाप बढिरहेको बेला गौतमबुद्ध विमानस्थललाई कार्गो केन्द्रका रूपमा उपयोग गर्न सकिने राम्रो अवसर छ,” आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।

आयोगले ठूला अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवाबाट कार्गो उडान सञ्चालनमा आकर्षित गर्न नीतिगत प्रोत्साहन दिन सरकारलाई सिफारिस गरेको छ। साथै, नेपाली व्यवसायीलाई वायुयान लिजिङ सुविधा उपलब्ध गराई यहाँबाट कार्गो एयरलाइन्स सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने सुझाव पनि दिएको छ।

यात्रु सेवा निरन्तर राख्न भने सरकारका पुराना निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आयोगको भनाइ छ। साथै, वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण प्रणाली (इकोसिस्टम) यहाँ स्थापना गरी श्रमिक आवागमनको केन्द्रका रूपमा पनि उपयोग गर्न सकिने सुझाव दिइएको छ। आयोगले भैरहवाको अन्तर्राष्ट्रिय प्रचार–प्रसार कमजोर रहेको उल्लेख गर्दै लुम्बिनीलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यको केन्द्रका रूपमा विश्व स्तरमा प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?