काठमाडौ । निर्माण व्यवसायीहरुमाथि सरकारको अमानवीय व्यवहार रहेको आरो निर्माण व्यवसायीहरुले लगाएका छन् । सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाउन पुगेका निर्माण व्यवसायी महासंघ पदाधिकारीहरुले व्यवसायीहरुलाई काम गर्न दवाव दिदै बैंक ग्यारेन्टी तान्ने चेतावनी समेत दिइरहेको बताए ।
महासंघका महासचिव शिवहरी घिमिरेका अनुसार सरकारी अधिकारीहरुले जसरी भएपनि काम गर, नगरे बैंक ग्यारेन्टी तानिन्छ भन्ने दबाब दिइरहेका छन् , यो अमानवीय व्यवहार हो ।
घिमिरेले मूल्यवृद्धिअनुसारको मूल्य समायोजन नभएसम्म निर्माण व्यवसायीले काम गर्न नसक्ने भन्दै सरकारले मूल्य समायोजन, म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्सलगायतका विषय तत्काल सम्बोधन नगरे निर्माण व्यवसायीहरु पलायनको बाटो रोज्ने दावी गरे ।
घिमिरेले सरकारी कर्मचारी र आयोजना प्रमूखहरुले समेत निर्माण व्यवसायीको पक्षमा मुल्यबृद्धि अनुसार मुल्य समायोजन हुनुपर्ने कुरा स्पष्टसँग नउठाएको बताउदै सरकारसँग भएको वार्तामा मूल्य समायोजन दिने आश्वासन दिइए पनि स्पष्ट प्रतिवद्धता नआएको गुनासो गरे ।
सरकारी कर्मचारीहरुले जसरी भएपनि काम गर, काम गरेनौ भने बैंक ग्यारेन्टी तानिदिन्छौँ’ भन्ने दबाब दिइरहनुभएको छ। महासचिव घिमिरेले भने ‘तिमीहरूको रगत मेसिनमा हालेर भए पनि काम गर भन्ने शैलीमा अत्यन्त क्रुर र अमानवीय तरिकाले काम गर्न बाध्य पारिएको छ ।’
‘यस्तो अवस्थामा कसैले पनि काम गर्न सक्दैन । जबसम्म मूल्यवृद्धिअनुसारको मूल्य समायोजन हुँदैन, तबसम्म काम गर्ने अवस्था छैन । निर्माण व्यवसायीप्रति गरिएको यो व्यवहार आक्रामक र अन्यायपूर्ण छ । मूल्य समायोजन पनि नगर्नेे, अनि काम गर्न पनि दबाब दिने अवस्थामा निर्माण व्यवसायीले कसरी काम गर्न सक्छ ?’महासचिव घिमिरेले भने ।
यसअघि सडक विभाग तथा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाइसकिएको उनले जानकारी दिए । साथै, ७७ वटै जिल्ला र सातै प्रदेशमा समेत निर्माण व्यवसायीहरूले निरन्तर रूपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया