काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ बजे प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन् । करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।
यस संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गरेको छ । विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एनपीएललाई नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा उल्लेख गर्दै सहभागी खेलाडी, आयोजक र नेपाल क्रिकेट संघलाई प्रतियोगिताको सफलताको शुभकामना दिएका छन् ।
दर्शकको आकर्षण, प्रायोजन, विज्ञापन, पर्यटन, होटल तथा रेस्टुरेन्ट व्यवसाय र खेलसम्बन्धी सेवाको विस्तारसँगै एनपीएल नेपाली अर्थतन्त्रमा नयाँ व्यावसायिक सम्भावना सिर्जना गर्ने खेलकुद आयोजनाका रूपमा स्थापित हुने क्रममा छ ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताले खेलाडी र प्राविधिक जनशक्तिसँगै मैदान व्यवस्थापन, सुरक्षा, टिकट बिक्री, प्रचारप्रसार, प्रसारण, डिजिटल सामग्री उत्पादन तथा विभिन्न सेवा प्रदायकका लागि पनि आर्थिक गतिविधि बढाउनेमा व्यवसायीहरु आशावादी देखिएका छन् ।
प्रतिक्रिया