वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मार्जिन कारोबारमा ब्रोकरको सक्रियता बढ्दो, लगानीकर्ता अझै ‘पर्ख र हेर’मा

१४ ब्रोकरले थाले सेवा, अर्बौंको कर्जा प्रवाह; बजारको सुस्तताले उपयोग विस्तारमा चुनौती

मार्जिन कारोबारमा ब्रोकरको सक्रियता बढ्दो, लगानीकर्ता अझै ‘पर्ख र हेर’मा
अर्थटुडे
२०८३ कार्तिक ९, आईतवार

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको खरीद क्षमता बढाउने उद्देश्यले शुरू गरिएको मार्जिन कारोबार सुविधामा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको सक्रियता बढ्दै गएको छ । तर, सेवा सञ्चालन गर्ने कम्पनीको संख्या विस्तार भइरहे पनि लगानीकर्ताको सहभागिता भने अपेक्षाअनुसार बढ्न सकेको छैन । बजारको पछिल्लो अवस्था, कर्जाको लागत, प्रारम्भिक लगानीको अनिवार्यता र जोखिमबारे पर्याप्त जानकारीको अभावले मार्जिन कारोबारको विस्तारमा चुनौती थपेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मार्जिन कारोबार सुविधा सञ्चालनका लागि ६१ ब्रोकर कम्पनीले अनुमति मागेका छन् । तीमध्ये अधिकांशले अनुमति पाइसकेका छन् भने हालसम्म १४ कम्पनीले सेवा सञ्चालनमा ल्याएका छन् । बाँकी कम्पनी पनि अनुमति तथा प्राविधिक तयारीको प्रक्रियामा छन् ।

मार्जिन कारोबार सुविधाले लगानीकर्तालाई आफूसँग उपलब्ध रकमभन्दा बढी मूल्यको शेयर खरिद गर्ने अवसर दिन्छ । यसमा लगानीकर्ताले शेयर खरिद मूल्यको कम्तीमा ३० प्रतिशत रकम आफैं लगानी गर्नुपर्ने र बाँकी रकम ब्रोकरबाट कर्जाका रूपमा लिन सक्ने व्यवस्था छ । यसले लगानीकर्ताको खरीद क्षमता बढाउनुका साथै दोस्रो बजारमा थप पूँजी परिचालनको सम्भावना खोल्छ ।

तर, ब्रोकर कम्पनीहरूले सेवा विस्तारमा देखाएको तत्परता र लगानीकर्ताले गरेको उपयोगबीच भने अन्तर देखिएको छ । केही कम्पनीले करोडौं रुपैयाँको मार्जिन कर्जा प्रवाह गरिसकेका छन् भने केहीमा आवेदन परे पनि सबै ग्राहकले सुविधा लिइसकेका छैनन् ।

ब्रोकरबाट अर्बौंको कर्जा प्रवाह

मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएका ब्रोकर कम्पनीमध्ये नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिजले उल्लेख्य रकम परिचालन गरेका छन् ।

नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालका अनुसार कम्पनीले नयाँ योजनाअन्तर्गत न्यूनतम १० लाखदेखि अधिकतम २ करोड रुपैयाँसम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । कम्पनीले यसअघि पनि यस्तो सेवा सञ्चालन गरेको थियो । पर्याप्त वित्तीय स्रोतको अभावमा निरन्तरता दिन नसकेको नासाले पछिल्लो समय बैंकबाट कर्जा लिएर सेवा पुनः सञ्चालनमा ल्याएको हो ।

भिजन सेक्युरिटिजले सेवा शुरू गरेको करिब डेढ महिनामै सात ग्राहकलाई १३ करोड रुपैयाँ मार्जिन कर्जा उपलब्ध गराएको जनाएको छ । कम्पनीका मार्जिन विभाग प्रमुख अमित पाण्डेका अनुसार १८ ग्राहकबाट आवेदन प्राप्त भएकोमा सात जनाले सुविधा पाइसकेका छन् भने अन्य आवेदन प्रक्रियामा छन् । कम्पनीले न्यूनतम १० लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

त्यस्तै, इम्पेरियल सेक्युरिटिजले पनि मार्जिन कारोबारअन्तर्गत हालसम्म ३० करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक भक्तिराम घिमिरेका अनुसार न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्मको सुविधा दिने व्यवस्था गरिएको छ ।

यस्ता उदाहरणले मार्जिन कारोबार सुविधा विस्तारको प्रारम्भिक चरणमै केही ब्रोकर कम्पनीले उल्लेख्य रकम परिचालन गर्न थालेको देखाउँछन् । यद्यपि, सबै कम्पनीको कारोबार र ग्राहक सहभागिता समान छैन ।

३० प्रतिशत रकम जुटाउनुपर्ने बाध्यता

मार्जिन कारोबारमा लगानीकर्ताले शेयर खरिद गर्नुअघि कुल मूल्यको कम्तीमा ३० प्रतिशत रकम आफैं जुटाउनुपर्छ । बाँकी ७० प्रतिशतसम्म रकम ब्रोकरबाट सापटी लिन सकिने व्यवस्थाले खरीद क्षमता बढाए पनि पर्याप्त प्रारम्भिक पूँजी नभएका लगानीकर्ताका लागि यो सहज नहुन सक्छ ।

इम्पेरियल सेक्युरिटिजका प्रबन्ध निर्देशक घिमिरेका अनुसार कतिपय लगानीकर्ता ब्रोकर कम्पनीमार्फत अनौपचारिक रूपमा उधारोमा शेयर कारोबार गरिरहेका छन् । तर, औपचारिक मार्जिन कारोबारमा शुरूमा नै निश्चित अनुपातमा रकम जम्मा गर्नुपर्ने भएकाले उनीहरूले अपेक्षित रुचि नदेखाएको हुन सक्ने उनको अनुमान छ ।

उनका अनुसार मार्जिन कारोबार सुविधा उपलब्ध गराउनु मात्रै पर्याप्त हुँदैन । यसको लागत, शर्त, जोखिम र कारोबार प्रक्रियाबारे लगानीकर्तालाई स्पष्ट जानकारी दिनु आवश्यक छ । कारोबार प्रणालीमा आवश्यक प्राविधिक सुधार पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।

लगानीकर्ता तिलक कोइराला भने शेयर बजारमा आएको गिरावट र लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीतिले पनि मार्जिन कारोबारको उपयोग प्रभावित भएको बताउँछन् । बजारमा अनिश्चितता कायम रहँदा थप कर्जा लिएर शेयर खरिद गर्न लगानीकर्ता हिचकिचाउनु स्वाभाविक भएको उनको बुझाइ छ ।

उनका अनुसार मार्जिन कारोबारले दोस्रो बजारमा पूँजी परिचालन बढाउन सहयोग गर्न सक्छ । तर, यसका लागि लगानीकर्तामा सुविधाबारे पर्याप्त जानकारी र बजारप्रति विश्वास आवश्यक हुन्छ ।

बैंकको ऋणभन्दा फरक, तर जोखिम कम छैन

सामान्यतया बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा कर्जा लिँदा लगानीकर्ताले आफूसँग पहिले नै भएको शेयर धितो राख्नुपर्छ । धितो राखिएको शेयर बिक्री गर्नुअघि कर्जा चुक्ता गरी धितो फुकुवा गर्नुपर्ने अवस्था आउन सक्छ ।

मार्जिन कारोबारमा भने ब्रोकरबाट लिएको कर्जाबाटै शेयर खरिद गरिन्छ । यसले लगानीकर्तालाई नयाँ शेयर खरिद गर्न थप पूँजी उपलब्ध गराउँछ । तर, यसबाट लगानीको प्रतिफलसँगै सम्भावित नोक्सानी पनि बढ्न सक्छ ।

उदाहरणका लागि, लगानीकर्ताले आफ्नो ३० लाख रुपैयाँ र ब्रोकरबाट लिएको ७० लाख रुपैयाँ कर्जा प्रयोग गरी १ करोड रुपैयाँको शेयर खरिद गरेमा शेयरको मूल्य बढ्दा आफ्नै पूँजीमा प्राप्त प्रतिफल तुलनात्मक रूपमा बढी हुन सक्छ । तर, शेयरको मूल्य घटेमा नोक्सानी पनि आफ्नै लगानीको अनुपातमा तीव्र हुन सक्छ । कर्जाको ब्याज र अन्य शुल्क तिर्नुपर्ने भएकाले बजारबाट प्राप्त प्रतिफलले लागत धान्न नसक्ने जोखिमसमेत रहन्छ ।

मार्जिन कारोबार निर्देशिकाअनुसार ब्रोकरले बजारको अवस्था, ग्राहकको जोखिम मूल्यांकन र सम्बन्धित कम्पनीको शेयरमा निहित जोखिमका आधारमा थप मार्जिन माग गर्न सक्छन् । कारोबार अवधिभर न्यूनतम २० प्रतिशत मेन्टेनेन्स मार्जिन कायम राख्नुपर्ने व्यवस्था छ ।

शेयरको मूल्य घटेर आवश्यक मार्जिन कायम नहुने अवस्था आएमा लगानीकर्ताले थप रकम जम्मा गर्नुपर्ने हुन्छ । तोकिएको रकम थप गर्न नसकेमा ब्रोकर कम्पनीले शेयर बिक्री गरी कर्जा असुल गर्न सक्छ । त्यसैले मार्जिन कारोबारले खरीद क्षमता बढाए पनि यसलाई सामान्य शेयर खरिदभन्दा बढी जोखिम व्यवस्थापन आवश्यक पर्ने कारोबारका रूपमा लिनुपर्छ ।

ब्याजदर ७ देखि १० प्रतिशत, शुल्कमा पनि फरक

मार्जिन कारोबारको लागत ब्रोकर कम्पनीअनुसार फरक छ । उपलब्ध विवरणअनुसार कम्पनीहरूले वार्षिक ७ देखि १० प्रतिशतसम्म ब्याज लिइरहेका छन् । अधिकांश कम्पनीले ब्रोकरबाट लिएको कर्जामा ०.२५ प्रतिशत सेवा शुल्कसमेत लिने गरेका छन् । केही कम्पनीले भने सेवा शुल्क नलिई ब्याज मात्रै लिने बताएका छन् ।

नासा सेक्युरिटिजका अध्यक्ष पौड्यालका अनुसार कम्पनीले सेवा शुल्क नलिई ब्याज मात्रै लिने गरेको छ । सनी सेक्युरिटिजले पनि वार्षिक ७ प्रतिशत ब्याजदरमा यस्तो सुविधा उपलब्ध गराउने जनाएको छ ।

ब्रोकर कम्पनीहरूले आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण वा शेयरधनी तथा सञ्चालकबाट प्राप्त असुरक्षित ऋणमार्फत मार्जिन कारोबारका लागि रकम जुटाउन सक्छन् । विद्यमान व्यवस्थाअनुसार ब्रोकर कम्पनीले आफ्नो नेटवर्थको ४.५ गुणासम्म यस्तो ऋण लिन पाउने व्यवस्था छ । एक व्यक्ति वा एकाघरका परिवारलाई कुल मार्जिन रकमको १० प्रतिशतभन्दा बढी उपलब्ध गराउन नपाइने सीमा पनि रहेको छ ।

१२३ कम्पनीको शेयरमा मात्रै कारोबार

मार्जिन कारोबार सुविधाबाट खरिद गर्न पाइने शेयरको दायरा पनि सीमित छ । नेप्सेले गत चैत १८ गते मार्जिन कारोबारका लागि योग्य १२३ सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको थियो । लगानीकर्ताले उक्त सूचीमा समावेश कम्पनीका शेयरमा मात्रै यो सुविधा प्रयोग गर्न पाउँछन् ।

मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीको सर्वसाधारणतर्फको सूचीकृत शेयर संख्या कम्तीमा २५ लाख कित्ता हुनुपर्ने, नेटवर्थ चुक्ता पूँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफामा रहेको हुनुपर्ने र शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

नेप्सेले योग्य ठहर गरेका सबै कम्पनीको शेयरमा प्रत्येक ब्रोकरले मार्जिन सुविधा उपलब्ध गराउनैपर्ने भने छैन । ब्रोकर कम्पनीले आफ्नै जोखिम मूल्यांकनका आधारमा योग्य सूचीभित्रबाट कारोबारका लागि शेयर छनोट गर्न सक्छन् ।

नियमावलीमार्फत नियमन थप व्यवस्थित गर्ने तयारी

मार्जिन कारोबार सुविधा सञ्चालन गर्ने कम्पनीको संख्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यसको नियमन थप व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको छ । बोर्डले यसअघि मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका जारी गरी २०८२ फागुन १ गतेदेखि लागू गरेको थियो ।

यसैलाई थप व्यवस्थित र पारदर्शी बनाउन बोर्डले ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ को मस्यौदा गत भदौ २ गते सार्वजनिक गरेको छ । प्रस्तावित नियमावलीले अनुमति प्राप्त संस्थामार्फत हुने मार्जिन कारोबारलाई जोखिममा आधारित बनाउने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्य राखेको छ ।

ब्रोकर कम्पनीहरूको सक्रियता बढ्नुले नेपाली पूँजी बजारमा कर्जामार्फत शेयर खरिद गर्ने औपचारिक माध्यम विस्तार भइरहेको संकेत गर्छ । तर, यसको वास्तविक प्रभाव सेवा शुरू गर्ने कम्पनीको संख्या वा स्वीकृत कर्जा सीमाले मात्रै निर्धारण गर्ने छैन । लगानीकर्ताको सहभागिता, बजारको दिशा, कर्जाको लागत, प्राविधिक प्रणालीको सहजता र जोखिम व्यवस्थापनको प्रभावकारिताले यसको विस्तारको गति तय गर्ने सराेकारवालाहरूकाे भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?