काठमाडौं, । विश्वव्यापी रूपमा पीएचपी प्रोग्रामिङ प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण बन्द गरिएका बैंक तथा वित्तीय संस्थाका वेबमा आधारित डिजिटल सेवा क्रमशः सञ्चालनमा आउन थालेका छन् । सम्भावित साइबर आक्रमणबाट जोगिन वेबसाइट तथा वेबमा आधारित सेवा अस्थायी रूपमा बन्द गरेका बैंकहरूले सुरक्षा प्रणाली अद्यावधिक, परीक्षण र प्याचिङको काम पूरा गर्दै सेवा पुनः सञ्चालनमा ल्याउन थालेका हुन् ।
सुरक्षा जोखिम पहिचान भएपछि नेपाल राष्ट्र बैंकसहित अधिकांश बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र रेमिट्यान्स कम्पनीले आफ्ना वेबसाइट तथा वेबमा आधारित सेवा बन्द गरी सुरक्षा सुधारको प्रक्रिया अघि बढाएका थिए । केही बैंकले शुक्रवार नै सेवा सञ्चालनमा ल्याए पनि शनिवार साँझसम्म सबै संस्थाका सेवा पूर्ण रूपमा सामान्य भइसकेका थिएनन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार पुराना पीएचपी भर्सन तथा वर्डप्रेसजस्ता प्रविधिमा आधारित वेबसाइटमा सुरक्षा जोखिम हुन सक्ने भएकाले प्रणाली अद्यावधिक र प्याचिङको काम भइरहेको छ । समयमै सतर्कता अपनाएर सुरक्षा सुधारको काम गरिएकाले सम्भावित जोखिमबाट बच्न सकिएको उनको भनाइ छ ।
पौडेलका अनुसार हालसम्म पीएचपीसम्बन्धी सुरक्षा समस्याका कारण राष्ट्र बैंक वा बैंकिङ क्षेत्रमा डाटा हराएको अथवा वित्तीय क्षति भएको जानकारी प्राप्त भएको छैन । पीएचपीमा आधारित वेब प्रणालीमा देखिएको समस्याले मोबाइल बैंकिङ एप्लिकेसनमा भने असर नगरेको उनले बताए ।
वेबमा आधारित सेवा बन्द हुँदा ग्राहकले अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप राख्ने, ग्राहक विवरण तथा केवाईसी अद्यावधिक गर्ने र डिम्याट खाता खोल्नेजस्ता सेवा प्रयोग गर्न पाएका थिएनन् । सेवा पुनः सञ्चालनमा आउन थालेसँगै यस्ता डिजिटल सेवामा देखिएको अवरोध क्रमशः हट्न थालेको छ ।
बिहीवार राति ७ बजेदेखि वेबमा आधारित सेवा बन्द गरेको सूचना जारी गरेको नबिल बैंकले शुक्रवार अपराह्न आवश्यक प्राविधिक सुधारपछि सबै सेवा सञ्चालनमा आएको जानकारी दिएको थियो । माछापुच्छ्रे बैंकले पनि शुक्रवार अपराह्न वेबसाइट तथा वेबमा आधारित सेवाको प्रणाली अद्यावधिक पूरा गरी सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको थियो ।
यद्यपि, सबै बैंकका सेवा एकैपटक सामान्य हुन सकेका छैनन् । शनिवार साँझसम्म कृषि विकास बैंकले अनलाइन खाता खोल्ने तथा डिम्याटसम्बन्धी सेवा बन्द रहेको जानकारी दिएको थियो । नेपाल बैंकले पनि खाता खोल्ने, मुद्दती निक्षेप राख्ने, केवाईसी अद्यावधिक गर्ने र डिम्याटसम्बन्धी सेवा बन्द रहेको जनाएको थियो । ग्लोबल आइएमई बैंकले समेत आफ्नो वेबमा आधारित डिजिटल युनिभर्स सेवा बन्द रहेको सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो ।
राष्ट्र बैंकले शुक्रवार साँझ सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणाली सबलीकरण गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन आग्रह गरेको थियो ।
शनिवार साँझसम्म राष्ट्र बैंकको वेबसाइटसमेत सञ्चालनमा आइसकेको थिएन । वेबसाइट बन्द हुँदा प्रकाशित हुनुपर्ने विदेशी विनिमय दरसम्बन्धी सूचना सार्वजनिक गर्न सामाजिक सञ्जालको सहारा लिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।
एआईबाट पत्ता लागेको सुरक्षा कमजोरी, पुराना प्रणालीमा चुनौती
प्रविधि विज्ञ राजीव कर्णका अनुसार पीएचपी विश्वभरका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ ल्याङ्ग्वेज हो । वर्डप्रेसजस्ता वेबसाइट व्यवस्थापन प्रणालीमा समेत यसको व्यापक प्रयोग हुने भएकाले यसमा देखिने सुरक्षा कमजोरीले ठूलो संख्यामा वेबसाइटलाई जोखिममा पार्न सक्छ ।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित टुलमार्फत प्रणाली परीक्षण गर्दा पीएचपीमा रहेको सुरक्षा कमजोरी पत्ता लागेको हो । उक्त कमजोरीबारे आक्रमणकारीसमेत जानकार हुन थालेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनले बताए ।
“आक्रमणकारीले ताला खोल्ने तरिका थाहा पाइसकेपछि ताला नफेरेसम्म जोखिम रहिरहन्छ । त्यसैले सम्भावित क्षति हुन नदिन पहिले वेबसाइट बन्द गरेर सुरक्षा प्रणाली सुधार गर्नुपर्ने हुन्छ,” कर्णले भने ।
उनका अनुसार पुराना पीएचपी भर्सनमा बनेका वेबसाइटलाई नयाँ भर्सनमा अद्यावधिक गर्नु प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्छ । नयाँ भर्सनमा जाँदा पुराना कोडले काम नगर्ने वा अन्य प्राविधिक समस्या देखिन सक्ने भएकाले परीक्षण र सुधार पूरा गरेपछि मात्रै सेवा सञ्चालनमा ल्याउनुपर्ने हुन्छ । यही कारण केही संस्थाका वेबसाइट तथा वेबमा आधारित सेवा पुनः सञ्चालनमा आउन समय लागेको हुन सक्ने उनको भनाइ छ ।
यद्यपि, पीएचपीमा सुरक्षा जोखिम देखिँदैमा सबै वेबसाइट वा प्रणालीमा साइबर आक्रमण भएको भन्ने अर्थ नलाग्ने विज्ञहरू बताउँछन् । जोखिमको स्तर प्रयोग भइरहेको भर्सन, प्रणालीको संरचना र अपनाइएका सुरक्षा उपायमा निर्भर हुने उनीहरूको भनाइ छ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) का निवर्तमान अध्यक्ष गौरव राज पाण्डेका अनुसार नेपालमा सफ्टवेयर निर्माणपछि नियमित मर्मतसम्भार नगर्ने प्रवृत्तिले यस्ता समस्या थप जटिल बनाउन सक्छ ।
प्रतिक्रिया