वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सस्तो ब्याजदर र ईभीको लहरसँगै फर्किंदै अटो कर्जा

सस्तो ब्याजदर र ईभीको लहरसँगै फर्किंदै अटो कर्जा
अर्थटुडे
२०८३ भाद्र ७, आईतवार

काठमाडौं । केही वर्षयता सुस्ताएको बैंक तथा वित्तीय संस्थाको अटो कर्जा बजारमा पुनः चहलपहल बढ्न थालेको छ । सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहक बढेसँगै बैंकहरूको हायर पर्चेज कर्जा पनि विस्तार हुन थालेको हो । घट्दो ब्याजदर, बैंकिङ प्रणालीमा पर्याप्त तरलता र विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणले अटो कर्जाको बजारलाई चलायमान बनाउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ३ प्रतिशत बढी हो ।

२ वर्षअघि बैंकहरूको कुल अटो कर्जा २ खर्ब रुपैयाँ हाराहारी पुगेको थियो । तर राष्ट्र बैंकले सवारीसाधन कर्जामा कडाइ गरेपछि लगातार दुई वर्षजति यो क्षेत्रमा कर्जा विस्तार खुम्चिएको थियो । अहिले भने कर्जा प्रवाह पुनः वृद्धिको बाटोमा फर्किएको तथ्यांकले देखाएको छ ।

ब्याजदर घटेपछि ग्राहक फर्किए
अटो कर्जाको पुनरुत्थानमा अहिलेको सबैभन्दा ठूलो आधार कर्जाको ब्याजदरमा आएको गिरावट बनेको छ । निक्षेपको ब्याजदर घट्दै जाँदा बैंकहरूको आधारदर पनि तल आएको छ । त्यसको प्रभाव सवारी कर्जाको ब्याजदरमा परेको छ ।

बैंकहरूले आधारदरमा सीमित प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराउन सक्ने अवस्था बनेपछि ग्राहकका लागि विगतको तुलनामा कर्जा सस्तो भएको छ । कतिपय बैंकले निश्चित अवधिका लागि स्थिर ब्याजदर, सेवा शुल्क छुटलगायतका सुविधा दिएर ग्राहक आकर्षित गर्न थालेका छन् ।

यससँगै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि अन्य क्षेत्रमा कर्जाको माग अपेक्षाकृत कमजोर छ । त्यसैले बैंकहरूले खुद्रा कर्जासहित तुलनात्मक रूपमा सुरक्षित मानिने क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् । अटो कर्जा पनि बैंकहरूको त्यही प्राथमिकतामा परेको छ ।

राष्ट्र बैंकको नीतिगत परिवर्तनले पनि सहज बनायो
अटो कर्जाको विस्तारमा ब्याजदर र तरलतासँगै राष्ट्र बैंकको पछिल्लो नीतिगत परिवर्तनले पनि भूमिका खेलेको छ । सवारी कर्जाको जोखिमभार तथा कर्जा–मूल्य अनुपातसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनले बैंकहरूलाई यस्तो कर्जा विस्तार गर्न पहिलेको तुलनामा सहज बनाएको छ ।

हायर पर्चेज प्रकृतिको सवारी कर्जामा जोखिमभारसम्बन्धी व्यवस्था परिवर्तन भएपछि बैंकहरूको पुँजीगत लागत घटेको छ । यसले सवारी कर्जामा लगानी गर्न बैंकहरूलाई थप प्रोत्साहित गरेको छ ।

व्यक्तिगत प्रयोजनका सवारीसाधनको कर्जा–मूल्य अनुपातमा पनि पछिल्लो समय परिवर्तन भएको छ । पहिले व्यक्तिगत प्रयोजनका पेट्रोल तथा डिजेल सवारीमा अधिकतम ५० प्रतिशत र विद्युतीय सवारीमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था थियो । पछि व्यक्तिगत प्रयोजनका सवारीसाधन तथा विद्युतीय सवारीमा ६० प्रतिशतको व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले भने कमर्सियल विद्युतीय सवारीसाधनका लागि कर्जा–मूल्य अनुपात ८० प्रतिशत कायम गरेको छ । यसले विशेषगरी व्यावसायिक ईभी खरिदका लागि कर्जा विस्तारको थप आधार तयार गरेको छ ।

पेट्रोलियमबाट ईभीतर्फ सर्दै अटो कर्जा

अहिलेको अटो कर्जाको बजार विगतको भन्दा फरक पनि देखिएको छ । पहिले पेट्रोल तथा डिजेल सवारीसाधन खरिदमा केन्द्रित रहने बैंक कर्जा अहिले विद्युतीय सवारीतर्फ पनि तीव्र रूपमा विस्तार भइरहेको छ ।

विद्युतीय सवारीसाधनको बिक्री बढ्दै जाँदा बैंकहरूले ईभी खरिदका लागि छुट्टै कर्जा योजना ल्याउन थालेका छन् । ब्याजदरमा छुट तथा अन्य सुविधासहितका योजनाले ग्राहकलाई बैंकमार्फत सवारी खरिद गर्न थप आकर्षित गरेको छ ।

सवारीसाधन प्रदर्शनी तथा विभिन्न बिक्री अभियानले पनि बजारमा माग बढाउन सहयोग गरेको छ । बैंकबाट कर्जा पाउने अवस्था सहज हुनु र सवारीसाधन खरिदमा कम्पनीहरूले ल्याउने अफर एकैपटक आउँदा ग्राहकको निर्णय प्रक्रियासमेत छिटो हुन थालेको व्यवसायीहरूको बुझाइ छ ।

यसरी हेर्दा अटो कर्जा बजार अहिले केवल बैंकिङ प्रणालीमा तरलता बढेको कारणले मात्र विस्तार भइरहेको छैन । घट्दो ब्याजदर, राष्ट्र बैंकको नीतिगत सहजता, ईभीप्रतिको बढ्दो आकर्षण र अटो बजारमा आएको नयाँ मागको संयोजनले बैंकहरूको सवारी कर्जालाई पुनः विस्तारको बाटोमा अघि बढाएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?