काठमाडौं । लक्ष्मी बैंकको १ः१ अर्थात शत प्रतिशत हकप्रद सेयरको लागि आइतबारदेखि आवेदन खुल्ला भएको छ ।
बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार ३०० रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
एक सय रुपैयाँ अंकित सो हकप्रद सेयर जेठ ७ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि लक्ष्मीको चुक्ता पुँजी ६ अर्ब ३१ करोड ८० लाख ६० हजार ६०० रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले असार मसान्त सम्ममा बाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्तापुँजी पुरयाउनको लागि निर्देशन दिइसकेको छ । कम्पनीको हकप्रद सेयरमा चैत १७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले जारी गर्न लागेको हकप्रद सेयरको निष्कासन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
लक्ष्मी बैंकको हात्तिसार काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
यसअघि बैंकले प्रोफेसनल दियालो विकासलाई गाभेर माघ २ गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यो हकप्रद भर्नेले पनि बोनस सेयर पाउने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९५ मात्र हुन आउँछ । लक्ष्मीको हाल चुक्ता पुँजी तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ छ ।
लक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया