काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएको छ । आन्दोलनरत मधेसी मोर्चा चुनावमा जान सहमत भएपछि बजारमा उछाल आएको हो । यसदिन सेयर बजार परिसुचक (नेप्से) १७०० भन्दा माथि पुगेर १६७३.७२ अंकमा आएर बन्द भएको छ ।
बजार खुलेको १० मिनेटमा नै ३ प्रतिशतले बढेको बजार १५ मिनेटका लागि रोकिएको थियो । कारोबार रोकिएपछि खुलेको बजार अन्ततः ३५.३५ अंकले बढेर बन्द भयो । आइतबार बैंकिङ ३१.३७, होटल २.२, विकास बैंक ३०.१९, जलबिद्युत २६.१२, फाइनान्स १४.९९, इन्स्योरेन्स ३१८.९३, उत्पादनमुलक ३५.४२ र अन्य उपसूचक १०.४१ अंकले बढेका छन् ।
यसदिन १४२ कम्पनीको एक अर्ब ५३ करोड ३८ लाख रुपैयाँको २२ लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएको हो । आइतबार साढे १२ बजेपछि नेप्सेको सिष्टममा समस्या आएर करिव आधाघण्टा कारोबार रोकिएको थियो । सोही कारण नेप्सेले ३ बजेपछि पनि थप २५ मिनेट कारोबार खुल्ला राखेको थियो ।
सबै भन्दा बढी प्रभु बैंकको सेयर खरीद बिक्रि भएको छ । बैंकको सात करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबारभएको छ । त्यस्तै सिदार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको धेरै कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनिको संस्थापक र साधारण दुबै लगानीकर्ता र कर्णाली विकास बैंकका लगानीकर्ताहरुले यसदिन १० प्रतिशतले कमाएका छन् ।
त्यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकका शेयर धनीले भने बजार बढेको बेलामा पनि करिब सात प्रतिशतले गुमाएको छ ।
प्रतिक्रिया