काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीय बासिन्दाको लागि जारी साधारण शेयरको बाँडफाँड भएको छ । सो आयोजनाको शेयर सबै आवेदकलाई कम्तीमा ३० र अधिकत्तम १०३ कित्ता परेको छ । कुल २ लाख ७६ हजार १ सय ९४ वटा आवेदन परेकोमा १० वटा आवेदन रद्ध भएका छन् ।
आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दालाई क्रमशः ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरी आइपीओ बाँडफाँड गरिएको हो । क ख र ग वर्गका आवेदकलाई क्रमश ३ ः १.४ ः १ को अनुपातमा साधारण सेयर बाँडफाँड गरिएको छ ।
सोही अनुसार अति प्रभावित क वर्गमा आवेदन परेको ३० देखि १०० कित्ता माग गर्ने पाँच हजार ५० आवेदकलाई मागेजति शेयर परेको छ । त्यस्तै ११० देखि ३०० कित्ता सम्म माग गर्नेलाई १०२ कित्ताका दरे ५ लाख १० हजार ९ सय कित्ता शेयर वितरण गरिएको छ ।
आयोजना प्रभावित ‘ख’ वर्गका आवेदकहरु मध्ये ३० कित्ता देखि ४० कित्ता शेयर माग गर्नेहरुलाई माग बमोजिम र ५० कित्ता देखि ३०० कित्तासम्म माग गर्ने सबै आवेदकलाई ४८ कित्ताको दरले ३७ लाख ७७ हजार ५८६ कित्ता सेयर बाँडफाँट गरिएको छ ।
यस्तै, दोलखा जिल्लाका अन्य बासिन्दा ‘ग’ वर्गका आवेदकमध्ये ३० कित्ता शेयर माग गर्नेलाई माग बमोजिम, ४० कित्ता शेयर माग गर्नेलाई ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेलाई ३४ कित्ताका दरले ६२ लाख ९९ हजार ८६६ कित्ता शेयर बाँडफाँट गरिएको विक्रि तथा प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ ।
यसरी शेयर बाँडफाँड गर्दा बाँकी रहेको १ हजार ५ सय ९८ कित्ता सेयर क वर्गका ३०० कित्ता सेयर माग गर्नेहरुलाई गोलाप्रथाबाट १ कित्ताका दरले थप गरिएको छ । कम्पनीले निष्कासन गरेको १ करोड ५ लाख ९० हजार कित्ता शेयरका लागि २ लाख ७६ हजार १९४ आवेदनबाट ३ करोड ७७ लाख ७ हजार ९० कित्ताको माग परेको थियो ।
माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । कम्पनीको साधारण सेयर नागरिक लगानी कोषको बिक्री प्रबन्धकत्व तथा सनराइज क्यापिटलको सह बिक्रीप्रबन्धकत्वमा निष्काशन भएको थियो । शेयर बाँडफाँडका क्रममा सेयर नपरेको पैसा पाँच दिनभित्र आवेदकलाई फिर्ता गरिसक्ने कम्पनीले जनाएको छ ।
सर्वसाधरणका लागि सेयर कात्तिक १६ देखि
माथिल्लो तामाकोसीको दोस्रो चरणको सर्वसाधरणका लागि जारी गर्ने शेयर कम्पनीले कात्तिक १५ गतेदेखि जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि एक अर्ब ५८ करोड ८५ हजार रुपैंया बराबरको सेयर १ सय रुपैंयाको दरमा निष्काशन गर्दैछ ।
प्रतिक्रिया