काठमाडौं । नेपाल–चीन सीमा क्षेत्र रसुवागढीमा आएको भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या १६५ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पछिल्लो विवरणअनुसार बाढीपछि अझै ८२६ जना सम्पर्कविहीन र ७३ जना घाइते छन् ।
प्राधिकरणको विवरणअनुसार बाढीले बगाएको अवस्थामा चितवनमा ६४ जना, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ जनाको शव भेटिएको छ ।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन् । रसुवामा १६१ र नुवाकोटमा ९ जना सम्पर्कविहीन रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।
घाइते हुनेमा रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन् ।
७ हजारभन्दा बढी सुरक्षाकर्मी खोज तथा उद्धारमा
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ७ हजार ४५१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उद्धार अभियानमा नेपाली सेना र अन्य सुरक्षा निकायसँगै हेलिकप्टरको समेत व्यापक प्रयोग गरिएको छ । बिहीबार बिहान १०ः३० बजेसम्म उद्धारका लागि ३७ वटा हवाई उडान भइसकेका छन् । बिहान ११ः१५ बजेदेखि थप ११ वटा हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
बिहीबार बिहान मात्रै जमिनबाट ६३ जनाको उद्धार गरिएको छ ।
तीन जिल्लामा २ करोड ५० लाख नगद राहत
बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारले रसुवा र नुवाकोटमा १–१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ नगद पठाएको छ । त्यस्तै प्रभावित क्षेत्रमा ८८१० ट्रक राहत सामग्री पठाइएको छ ।
राहत सामग्रीमा खाद्यान्न, बिस्कुट, त्रिपाल, लत्ताकपडा, औषधिलगायतका सामग्री रहेका छन् । प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ । यस्तै उद्धार तथा राहत अभियानमा इन्धन अभाव हुन नदिन नुवाकोट क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति बढाइएको छ ।
प्राधिकरणका अनुसार स्थानीय पेट्रोल पम्पहरूमा करिब २३ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल मौज्दात छ । बिहीबार थप १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल पठाइएको छ । हवाई उद्धारका लागि नुवाकोटमा ६ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र थप ८ हजार लिटर पठाइएको विवरणमा उल्लेख छ ।
भोटेकोशी बाढीपछि रसुवागढी हुँदै त्रिशूली करिडोरसम्मको क्षेत्रमा मानवीय क्षति र सम्पर्कविहीनको संख्या ठूलो देखिएको छ । नदी तथा बाढी प्रभावित क्षेत्रमा खोजी अभियान जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने जोखिम कायमै छ ।
प्रतिक्रिया