काठमाडौं । कृष्णभिरमा सडक भासिएर नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति व्यवस्थामा दबाब बढेको छ । ठूला ग्यास बुलेटमार्फत नियमित ढुवानी सम्भव नभएपछि उद्योगीले वैकल्पिक ढुवानी प्रणालीमार्फत आपूर्ति कायम राख्ने व्यवस्था मिलाएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार बिहीबारदेखि दैनिक २ सय ट्रक ग्यास ढुवानीमा परिचालन गरिने भएको छ । संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार १ सय ट्रकले खाली सिलिन्डर तराईका उद्योगमा पु¥याउने र अर्को १ सय ट्रकले ग्यास भरिएका सिलिन्डर उपत्यका भित्र्याउनेछन् ।
यस व्यवस्थाले सडक अवरोधका कारण उपत्यकामा ग्यासको नियमित आपूर्ति शृंखला प्रभावित हुन नदिन उद्योगीलाई वैकल्पिक बाटो दिएको छ । तर, बुलेटबाट एकैपटक ठूलो परिमाणमा ग्यास ढुवानी गर्ने नियमित प्रणालीको सट्टा साना ट्रकमार्फत सिलिन्डर ओसार्दा ढुवानी व्यवस्थापन र लागतमा भने दबाब पर्न सक्ने देखिएको छ ।
सडक अवरोधका कारण ग्यास उद्योगले खाली सिलिन्डर तराईका प्लान्टसम्म पु¥याएर पुनः ग्यास भरी उपत्यका ल्याउनुपर्ने भएकाले आपूर्ति प्रक्रिया पनि लामो हुने भएको छ । केही ट्रकले बुधबारदेखि नै खाली सिलिन्डर तराईतर्फ लैजान सुरु गरिसकेका छन् ।
नयाँ व्यवस्थाअनुसार दैनिक १ सय ट्रक ग्यास भरिएका सिलिन्डर उपत्यका भित्र्याइनेछ । यसबाट बजारमा ग्यासको अभाव हुन नदिई उपभोक्ताको माग धान्ने प्रयास गरिएको छ ।
उपत्यकामा भित्रिने ग्यासमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइनेछ । होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक उपभोक्ताले भने तत्कालका लागि तराईका सम्बन्धित प्लान्टबाट आफ्नै खर्चमा ग्यास ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
व्यावसायिक क्षेत्रले आफ्नै खर्चमा ग्यास ढुवानी गर्नुपर्ने भएपछि होटल, रेस्टुरेन्ट तथा अन्य ग्यासमा निर्भर व्यवसायको सञ्चालन लागत बढ्न सक्ने देखिएको छ । सडक अवरोध लामो समय कायम रहेमा यसको प्रभाव ग्यासको ढुवानी लागत हुँदै व्यावसायिक सेवाको मूल्यसम्म पर्न सक्ने व्यवसायीको चिन्ता छ ।
प्रतिक्रिया