काठमाडौ । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार कतारबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् ।
बुधबार नै प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन् ।
त्यसलगत्तै प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुनुहुने कार्यक्रम छ। असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीज्यू असोज ९ गते नेपाल फर्कनेछन् भने असोज १० मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया