काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै तोकिए अनुसार योग्य, अनुभवी व्यक्तिलाई आवेदन दिन अनुरोध गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईको कार्यकाल सकिन लागेपछि बैंकले डिसिइओ पदको लागि नयाँ नियुक्ती गर्न लागेको हो । बैंकमा दुई जना डिजिएमको दरबन्दी भएपनि हाल एउटा पद रिक्त रहेको छ । डिजिएम मनोज खड्काले राजिनामा दिएसँगै २ वर्षयता उक्त पदमा पदपूर्ति भएको छैन ।
बैैंकबाट उच्च तहका कर्मचारीहरुले धमाधम राजिनामा दिन थालेपछि बैंकले खुल्ला प्रतिस्पर्धाबाट डिसिइओ नियुक्ती गर्न लागेको हो । बैंकले गत शनिबार मात्र प्रमुख कर्जा अधिकृत मोहन कुमार कार्कीलाई विदाई गरेको थियो । त्यसअघि बैंकका आइटी विभाग प्रमुख नविन कार्की पनि राजिना गरेर बाहिरिएका थिए ।
सार्वजनिक सूचना अनुसार डिसिइओका लागि व्यवस्थापन वा मानविकी (अर्थशास्त्र) विषयमा स्नातकोत्तर उत्तीर्ण र बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा ७ वर्षको व्यवस्थापन–स्तरको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ । यस्तै आवेदनकर्ताको उमेर ५८ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशन मितिदेखि २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पठाउनुपर्ने बैंकले जनाएको छ । आवेदनकर्ताले अपेक्षित तलब उल्लेख गरिएको कभर लेटर, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्र, विदेशबाट प्राप्त शैक्षिक प्रमाणपत्र भए समकक्षता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, पासपोर्ट–साइज फोटो तथा ४ वर्षे व्यवसायिक योजना (मुख्य मुद्दा, चुनौती तथा समाधानसहित) पेश गर्नुपर्नेछ ।
सहकारी क्षेत्रमा देखिएको समस्यासँगै बैंकको वित्तीय अवस्था पनि विग्रदै गएपछि कर्मचारीहरुले छोड्ने क्रम बढिरहेको छ । अधिक खराव कर्जा र तोकिए अनुसार पुँजीकोष पुर्याउन नसक्दा बैंकलाई नेपाल राष्ट्र बैंकले प्रत्यक्ष निगरानीमा राखी सुधारका योजनाहरु कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया