काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको निर्वाचनको मिति नजिकिएसँगै नेतृत्वका लागि सहकारीकर्मीबीच रस्साकस्सी सुरु भएको छ ।
संस्थागत सुशासनलगायतका कैफियत देखाएर नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपछि कार्यकाल सकिनुभन्दा एक वर्ष अघि नै सञ्चालक समितिको निर्वाचन हुदैछ । बैंकको मंसिर ६ गते सम्पन्न एकाइगत साधारणसभा तथा मंसिर १३ गते भएको माइन्युट प्रमाणीत साधारणसभाले आगामी पुस १२ गते सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने निर्णय गरीसकेको छ ।
साधारणसभाले बैंकको विनियम संसोधन गरी ९ जनाको सञ्चालक समिति तथा तीन जना लेखा सुपरिवेक्षण समिति बनाउने निर्णय गरेको छ । जसमा अध्यक्ष एक जना, उपाध्यक्ष एक जना ५ जना सञ्चालक तथा २ जना विज्ञ गरी ९ जनाको सञ्चालक समिति बनाउने प्रावधान राखिएको छ । यसैगरी लेखा सुपरिवेक्षण समिति भने तीन जनाको हुनेछ ।
बैंकले साधारणसभाको निर्णय तथा संसोधित विनियम नियामक निकाय नेपाल राष्ट्र बैंक तथा सहकारी विभागमा पेश गरेपनि स्वीकृती भएको छैन । नियामक निकायले दिएको दिएको स्वीकृतीका आधारमा मात्र बैंकमा नेतृत्व चयन हुनेछ ।
नियामक निकायबाट विनियम स्वीकृत नभएपनि बैंकको नेतृत्वका लागि भने सहकारीकर्मीबीच रस्साकस्सी सुरु भइसकेको छ । अध्यक्षका लागि हालसम्म बैंकका पूर्व सञ्चालक रामशरण शर्मा घिमिरे, बैंककै लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती*, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल मुख्य दावेदारका रुपमा अगाडी आएका छन् ।
अहिलेसम्म अध्यक्षका रुपमा दावी गरेका सबै उम्मेदवार नेकपा एमाले निकट देखिन्छन् । हालसम्म पार्टीबाट सहकारी बैंकको नेतृत्वका लागि कुनै निर्णय नगरेकाले दावेदावरी गरिरहेका व्यक्तिहरुले पनि अहिलेसम्म कुनै औपचारिक घोषणा भने गरेका छैनन् । तर, सबै उम्मेदवारीहरु अनौपचारिक भेटघाट तथा मिटिङमार्फत आफ्नो पक्षमा माहोल बनाउन लविइङ गरिरहेका छन् ।
एमाले निकट स्रोतका अनुसार मंसिर २७ देखि २९ गतेसम्म पार्टीको महाधिवेशन हुन लागिरहेको र त्यसपछि मात्र सहकारी बैंकको नेतृत्वको निर्णय हुनेछ । अहिलेसम्म पार्टीको सहकारी तथा गरिवी निवारण विभागका संयोजक खगराज अधिकारीले विभागकै सचिव रहेका परितोष पौड्याललाई अध्यक्ष बनाउन दौडदुध गरिरहेका छन् ।
तर, एमाले निकट सहकारीकर्मीहरुको बहुमत भने पौड्याललाई भन्दा रामशरण शर्मा घिमिरेलाई अधयक्ष बनाउनेपर्ने पक्षमा देखिएको छ । पौड्याल नेफ्स्कूनको नेतृत्वमा रहँदा गरेका विवादीत कामका कारण अलोकप्रिय रहेको र उनले बैंकको नेतृत्व गर्न नसक्ने एमाले निकट सहकारीकर्मी वताउँछन् ।
बैंकको सञ्चालक समेत बसेर अनुभव लिइसकेकाले रामशरण शर्मा घिमिरेलाई अध्यक्ष बनाउने विषयमा बढी लविइङ भइरहेको बुझिएको छ । घिमिरे निकट सहकारीकर्मीहरुले पनि अहिले बैंकको वित्तीय अवस्था विग्रीएको, राष्ट्र बैंकले निगरानी गरिरहेको अवस्थामा सबै सहकारीकर्मीलाई मिलाउने गरी लैजान सक्ने साझा नेतृत्व हुनुपर्ने बताइरहेका छन् ।
‘अहिले समग्र सहकारी क्षेत्र र बैंकको अवस्था राम्रो छैन, त्यसैले सबैलाई मिलाएर लैजान सक्ने साझा तथा बैंक बुझेको नेतृत्व बनाउनुपर्छ’ बैंकको नेतृत्व छान्न सक्रियता देखाएका एक सहकारी नेताले भने, ‘त्यसका लागि रामशरण शर्मा घिमिरे सबैभन्दा उपयुक्त उम्मेदवार देखिएको छ ।’
घिमिरेलाई नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीलगायतको समर्थन समेत रहेको बताइएको छ । यसैगरी बैंकको हालका अध्यक्ष महेन्द्र गिरी समेत घिमिरेलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेको बुझिएको छ ।
बैंकको अध्ययक्षका लागि लेखा संयोजक उप्रेतीले समेत दौडधुप गरिरहेपनि केन्द्रीय स्तरमा नेतृत्व गरिरहेका व्यक्तिलाई नै अगाडी ल्याउनुपर्ने मत बलियो रहेकाले उनी कमजोर देखिएका छन् । मोफसलमा मात्र काम गरेकाले उनले सिधै केन्द्रीयस्तरको बैंक समन्वयन गर्न नसक्ने सहकारीकर्मीविच गाइगुइ छ ।
यसअघि बैंकको नेतृत्वमा लविइङ गरेका रामहरी बजगाई भने राष्ट्र बैंकबाटै असहयोग हुने अवस्था देखिएपछि साइड लागेकाे बताइएको छ ।
पछिल्लो पटक २०७९ पुस १६ मा भएको बैंकको १९ औं वार्षिक साधारणसभाले केबी उप्रेतीको अध्यक्षमा सञ्चालक समिति चयन गरेको थियो । तर, उप्रेती प्रारम्भिक संस्था यमुना आइडल हाम्रो सहकारी संस्थाको ठगी मुद्दामा थुनामा परेपछि उनलाई बैंकको अध्यक्षबाट हटाउन दवाव परेको थियो । त्यसपछि राष्ट्र बैंकको अनुगमनमा उप्रेतीले फर्जी विवरण पेश गरी अध्यक्षमा निर्वाचित भएको भेटिएपछि हटाउन निर्देशन दिएको थियो । राष्ट्रिय सहकारी बैंकबाट यमुना आइडलले लिएको ऋणको भाखा नाघेको भएपनि उप्रेतीले काठमाडौं जिल्ला सहकारी संघबाट प्रतिनिधित्व गर्दै बैंकको अध्यक्षमा पुनः निर्वाचित भएका थिए ।
अनुगमनपछि राष्ट्र बैंकले अध्यक्ष उप्रेतीसँगै सञ्चालकहरू रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट हटाउन निर्देशन दिएको थियो । त्यसपछि गतवर्ष मंसिरमा बैंक सञ्चालक समितिले राष्ट्र बैंकको निर्देशन अनुसार अध्यक्ष उप्रेती सहित ५ जना संचालकहरुलाई हटाएको अध्यक्षमा महेन्द्र कुमार गिरिलाई चयन गरेको थियो ।
राष्ट्र बैंकले सहकारी बैंकलाई विनियम संसोधन गरी नयाँ सञ्चालक समिति चयन गर्न निर्देशन दिएको छ ।
*सच्याइएको
प्रतिक्रिया