वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँचौ साकोस गोष्ठी सुरु, स्वनियमको नाममा मनलाग्दी नगर्न मन्त्रीको चेतावनी

पाँचौ साकोस गोष्ठी सुरु, स्वनियमको नाममा मनलाग्दी नगर्न मन्त्रीको चेतावनी
अर्थटुडे
२०८२ पुष ३, बिहीबार

काठमाडौ । ‘सुदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ नाराका साथ पाँचौ साकोस शिखर गोष्ठी—२०८२ सुरु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सो गोष्ठीको आयोजनाका गरेको हो । विहीबारदेखि सुरु भएको सो गोष्ठीको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले केही संचालकहरुको वदमासीका कारण सहकारी क्षेत्र बदनाम बनेको बताए ।

उनले सहकारी क्षेत्रको नियामक निकायले राम्रोसँग काम नगरेकोले सहकारीले सिद्धान्त अनुसाकार काम गर्न सकेनन् र सही रुपमा प्रतिफल दिन नसकेको बताए । मन्त्री इङ्नामले आम सर्वसाधारणको पैसाको सुरक्षा सहकारीमा नभएको तर्क गर्दै सहकारीमा थप जोखिम बढ्दै गएको बताए ।
उनले भने, ‘जसले पैसा गोजीमा मुठ्याउन सक्यो, बोरामा हाल्न सक्यो, उ अझ ठूलो हुँदै गयो । यस्तो कुव्यवस्था, कुसंस्कार हामीले प्रयोगमा ल्यायौं । धिक्कार छ । यस किसिमको व्यवहार हामीले गर्यौं ।

त्यस्तै उनले सहकारीबाट लगेको ऋण तिर्न पर्दैन भन्ने भ्रममा नपर्न भन्दै जसले सहकारीको रकम खाएको छ सो रकम जहाँ भएपनि खोजेर ल्याएर सर्वसाधारणको रकम फिर्ता गर्ने बताए ।

उनले सहकारीहरुको अनुगमनका लागि संघहरु रहेको र उनीहरुले स्वनियममा चल्लन पाउनुपर्ने बताएको भन्दै उनले भने स्वनियममा त चल्नुभएछ ? मनलाग्दी गर्नका लागि हो स्वनियम ? उनले प्रतिपश्न गरे ।

त्यस्तै सचिव मदन भुजेलले नियामकीय निर्देशनको पालनामा सहकारीहरुबाट भएको अटेरीले अहिलेको अवस्था आएको बताए । उनले भने, ‘स्वतन्त्र, स्वायत्त र स्वयिनमनमा सञ्चालित हुनुपर्ने सहकारी संस्थाहरु वित्तीय अपचलन, कानूनले स्वीकृत नदिएका जोखिमका क्षेत्रहरुमा लगानी, सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीको कमजोर व्यवस्थापन, सहकारी कानून एवम् सहकारी नियमनकारी निकायको निर्देशन तथा सूचनाहरुको कमजोर परिपालना लगायतका कारणले चरम समस्यामा पुगेका छन् ।’

‘स्वतन्त्र, स्वायत्त र स्वयिनमनमा सञ्चालित हुनुपर्ने सहकारी संस्थाहरु वित्तीय अपचलन, कानूनले स्वीकृत नदिएका जोखिमका क्षेत्रहरुमा लगानी, सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीको कमजोर व्यवस्थापन, सहकारी कानून एवम् सहकारी नियमनकारी निकायको निर्देशन तथा सूचनाहरुको कमजोर परिपालना लगायतका कारणले चरम समस्यामा पुगेका छन् ।

सहकारी सञ्चालकहरुको कुनियतका कारण सहकारी संस्थाहरुले सिर्जना गरेको समस्या र दायित्व सहकारी संस्थामार्फत सरकारतर्फ हस्तान्तरण हुने जोखिम दिनदिनै बढ्दै गइरहेकोतर्फ उनले सचेत समेत गराए ।

सहकारीमा खासगरी दोहोरो सञ्चालकमा नबस्न संघीय सहकारी विभागले पटकपटक सूचनामार्फत सचेत गराएपनि अभियानका अगुवाहरुले अटेरी गरेको विषयप्रति सचिव भुजेलले कटाक्ष गरे । यसैगरी, उनले सहकारी नियमनको भूमिका ७६१ वटै सरकारमा बाँडफाँड हुँदा नियमनमा ह्रास आएको धारणा राखे। नियमनको भूमिका बाँडिएपनि नियमन क्षमता विकास नभएको उनको भनाइ थियो ।

त्यस्तै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे । उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए । अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रति देखिँदै आएको नकारात्मक धारणा र चुनौतीप्रति संकेत गर्दै भने, ‘हामी जिम्मेवार छौँ, तर सहकारी अभियानलाई धमिलो बनाइरहेको वातावरण हटाउन अझै सफल हुन सकेका छैनौँ । हामी दोषीमुक्त भई पारदर्शी र उत्तरदायी सहकारी अभियान अगाडि बढाउन चाहन्छौँ ।’

नेफ्स्कून विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर रूपान्तरणमा क्रियाशील रहँदै आएको केन्द्रीय निकाय हो । यस संस्थाले नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने ४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरूलाई समेट्दै आएको छ ।

नेफ्स्कून अन्तर्गत ५९ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ, ४ वटा प्रदेश बचत तथा ऋण सहकारी संघ तथा करिब ५९ लाख व्यक्तिगत सदस्यहरू आबद्ध छन् । स्थापना कालदेखि नै नेफ्स्कून विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्य रहँदै आएको छ । संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा विकसित साकोस समाधानहरूको प्रवद्र्धन तथा कार्यान्वयन गर्दै बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?