काठमाडौैं । नेपालका बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एसियाली ऋण महासंघ (अकू) को कोषाध्यक्ष पदमा चयन भएका छन् । अकू दक्षिण एशियाली देशका सहकारीहरुको छाता संगठन हो ।
अकूमा नेपालबाट नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक सदस्य रहेका छन् । सोमबार थाइल्यान्डको बैंककमा सम्पन्न अकूको बोर्ड बैठकले सञ्चालक समिति पुर्नगठन गर्दा वैकल्पिक सदस्यमा रहेका ढकाललाई कोषाध्यक्षमा मनोनीत गरेको हो । यो उपलब्धी नेपालका बचत तथा ऋण सहकारीहरुको भएको प्रतिक्रिया दिदै ढकालले नेपालका सहकारीहरुलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन भूमिका निर्वाह गर्ने बताए ।
‘अन्तर्राष्ट्रिय असल अभ्यास, शिक्षा तथा तालिमको आन्तरिकीकरण गर्दै नेपालका सहकारीहरुको स्तरवृद्धि गर्नका लागि मेरो भूमिका रहनेछ’ अर्थटुडेसँग उनले भने । अकूका तत्कालिन अध्यक्ष किम योनसिकले राजीनामा गरेपछि सञ्चालक समिति पुर्नगठन गर्दा नेफ्स्कूनको प्रतिनिधित्व गर्दै ढकाललाई कोषाध्यक्षको जिम्मेवारी तोकिएको हो ।
दक्षिण कोरियाली क्रेडिट युनियन संघ (नाकूफोक) का अध्यक्षका रुपमा अकु पुगेका योनसिकले आफ्नो कार्यकाल सकिएसँगै अकुको अध्यक्षबाट समेत राजीनामा गरेका हुन् । अकुको नयाँ अध्यक्षमा थाइल्याण्डको क्रेडिट युनियन फेडेरेशन एफएससीटीका मेजर जेनेरल दानुकृत कालाम्पाकोर्न चुनिएका छन् । यसअघि उनी प्रथम उपाध्यक्ष थिए । पूर्नगठित सञ्चालक समितिको कार्यकाल आगामी सेप्टेम्बरसम्म रहेको छ । अकूले दक्षिण एशियाली देशका बचत ऋण सहकारीहरुको वकालतका साथै संस्थागत सुशासन, क्षमता अभिवृद्धि, वित्तीय समावेशीकरण, ब्राडिङलगायतका काम गर्दै आएको छ ।
प्रतिक्रिया