काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा नयाँ सञ्चालक समिति चयनका लागि आगामी जेठ ९ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक को निर्देशन र सहकारी विभागको पत्रअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार सातै प्रदेशबाट एक/एक जना प्रतिनिधित्व हुने गरी सात सञ्चालक निर्वाचित हुनेछन् । अध्यक्ष भने निर्वाचित सञ्चालकहरूमध्येबाट चयन गरिनेछ । यसैगरी दुई जना स्वतन्त्र तथा विज्ञ सञ्चालक मनोनयन गरिने व्यवस्था गरिएको छ । यसका लागि पहिलो प्राथमिकता बैंककै सदस्यहरूमध्ये तोकिएको योग्यता पुगेका व्यक्तिलाई दिइनेछ भने त्यस्तो व्यक्ति उपलब्ध नभए बाहिरबाट मनोनयन गरिने बताइएको छ । तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति भने निर्वाचनबाटै छनोट हुनेछ ।
यसअघि गत मंसिरमा सम्पन्न साधारणसभाले पुस १२ गते सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, साधारणसभाबाट पारित विनियम स्वीकृतिमा ढिलाइ हुँदा बैंकको निर्वाचन प्रक्रिया अनिश्चित बनेको थियो । हालै सहकारी विभागले सहकारी सिद्धान्त, ऐन तथा नियमअनुसार सञ्चालक समिति चयन गर्न स्वीकृति दिएपछि बैंकले राष्ट्र बैंकको निर्देशनबमोजिम प्रक्रिया अघि बढाएको हो । कानुनी राय लिएर सञ्चालक समिति चयन प्रक्रिया अघि बढाइएको बताइएको छ ।
राष्ट्र बैंकको निर्देशनमा सहकारी बैंकमा ३३ प्रतिशत महिला सहभागितासहित बढीमा ९ सदस्यीय सञ्चालक समिति गठन गर्नुपर्ने, प्रादेशिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा बैंकिङ क्षेत्रका एक विज्ञ र सहकारी क्षेत्रका एक विज्ञसहित दुई स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ । साथै बैंकलाई दिएको निर्देशनमा भने अध्यक्ष निर्वाचित सञ्चालकहरूमध्येबाट चयन गर्नुपर्ने प्रावधान पनि राखिएको छ ।
यद्यपि, सहकारी विभागले अध्यक्ष प्रत्यक्ष निर्वाचित नहुने र स्वतन्त्र तथा विज्ञ सञ्चालकको व्यवस्था सहकारी सिद्धान्तविपरीत हुने तर्क गर्दै विनियम स्वीकृतिमा लामो समय आलटाल गरेको थियो । संस्थागत सुशासनलगायत विषयमा प्रश्न उठेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्दै नयाँ सञ्चालक समिति चयन गर्न निर्देशन दिएको हो । गत वर्ष मंसिरमै राष्ट्र बैंकले तत्कालीन अध्यक्ष केबी उप्रेती सहित पाँच सञ्चालकलाई पदमुक्त गर्न निर्देशन दिएको थियो । त्यसयता बैंकको नेतृत्व महेन्द्र गिरीले सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया