वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वरोजगार कोषको ६७ करोड असुली संकटमा

स्वरोजगार कोषको ६७ करोड असुली संकटमा
अर्थटुडे
२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष (Youth and Small Entrepreneur Self Employment Fund) ले सहकारी संस्थामार्फत प्रवाह गरेको करोडौं रुपैयाँ कर्जा असुल हुन नसक्दा सरकारी लगानी जोखिममा परेको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले कोषको कर्जा असुली प्रक्रिया कमजोर रहेको औंल्याउँदै ६७ करोड रुपैयाँभन्दा बढी रकम बक्यौतामा रहेको जनाएको हो ।

कोषको नियमावली–२०७७ अनुसार ऋण सम्झौताको अवधि ५ वर्ष र कर्जा भुक्तानी अवधि ४२ महिना तोकिएको छ । तर, ठूलो परिमाणमा कर्जा ‘भाखा नाघेको’ अवस्थामा पुगेपछि असुली प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

कोषको अभिलेखअनुसार २०८२ असार मसान्तसम्म ४३२ वटा सहकारी संस्थामार्फत २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरिएको थियो । ती संस्थाबाट साँवा, ब्याज र हर्जानासहित कुल ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

बक्यौता रकममध्ये ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ साँवा, ८ करोड ९८ लाख ६४ हजार रुपैयाँ ब्याज र २३ लाख ८२ हजार रुपैयाँ हर्जाना रहेको छ । सम्झौताअनुसार समयमै किस्ता नबुझाएमा थप २ प्रतिशत हर्जाना ब्याज लाग्ने कानुनी व्यवस्था भए पनि अधिकांश सहकारी संस्थाले नियमित भुक्तानी नगर्दा बक्यौता बढ्दै गएको देखिएको छ ।

महालेखाले सम्झौताअनुसारको हिसाब यकिन गरी बाँकी रहेको सम्पूर्ण साँवा, ब्याज र हर्जाना तत्काल असुल गर्न कोषलाई निर्देशन दिएको छ । साथै, कमजोर अनुगमन र प्रभावहीन असुली संयन्त्रका कारण सरकारी स्रोत परिचालनमै जोखिम बढेको संकेत प्रतिवेदनले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?