वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकको निर्वाचनमा तीन दलको नांगो हस्तक्षेप, साक्षी बन्दै सहकारी महासंघ

सहकारी बैंकको निर्वाचनमा तीन दलको नांगो हस्तक्षेप, साक्षी बन्दै सहकारी महासंघ
अर्थटुडे
२०८३ जेष्ठ ३, आईतवार

काठमाडौं । बैशाख २८ गते तिनकुनेको एक रेष्टुरेन्टमा पुराना तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका सहकारी विभाग प्रमुख भेला भए । भेलाको उद्देश्य सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको उपाय खोजी गर्ने थिएन, उद्देश्य थियो नेपालका सहकारीहरुको एकमात्र केन्द्रीय बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकका लागि सञ्चालकको भागवण्डा गर्ने !

एमालेका खेमप्रसाद लोहनी, कांग्रेसकी गिता सत्याल तथा नेकपाका लीलामणि पोखरेल केही सहकारीकर्मीलाई साक्षी राखेर सहकारी बैंकको सञ्चालक भागवण्डा लगाए :- एमालेलाई बागमती, कोशी र गण्डकी प्रदेश, कांग्रेसलाई मधेश र सुदूरपश्चिम तथा नेकपालाई लुम्बिनी र कर्णाली प्रदेश । यस्तै लेखा संयोजक कांग्रेसलाई तथा दुई सदस्य एमालेलाई भागवण्डा भयो ।

सोही अनुसार छ वटा प्रदेश तथा लेखा समितिमा पार्टीको निर्णय अनुसार नै निर्विरोध उम्मेदवारी भएपनि एमालेको भागमा परेको बागमतीमा भने दुई जनाको उम्मेदवारी कायम भएसँगै चुनावबाट नेतृत्व चयन गर्नुपर्ने भएको छ । भावि अध्यक्षका रुपमा समेत हेरिएको बागमती सञ्चालकका लागि सुरुमा पाँच जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जनाको उम्मेदवारी फिर्ता भएपनि रामशरण शर्मा घिमिरे र परितोष पौड्यालले अडान कायमै राखेपछि भने एमालभित्रको आन्तरिक असन्तुष्टि बाहिर आएको छ ।

घिमिरे पार्टीको सहकारी विभागका पूर्व सदस्य र पौड्याल अनुशासन आयोगका सदस्य हुन् । पार्टीले जवरजस्त रुपमा पौड्याललाई आधिकारीक उम्मेदवारका रुपमा निर्णय गरेपनि घिमिरेले अडान छोडेका छैनन् ।

यता घिमिरेको अडानलाई पार्टी र सहकारी वृत्तमा मौन विद्रोहको रुपमा ब्याख्या भइरहेको छ । ‘यो विभागिय प्रमुखहरुले कोठामा बसेर उम्मेदवार छान्ने प्रवृत्तीको विरोध हो’ एक सहकारीकर्मीले भने, ‘यसको परिणाम निर्वाचनमा यसपटक स्पष्ट देखाइदिन्छौं ।’

सहकारी गैरराजनीतिक क्षेत्र भएपनि नेतृत्व चयनमा राजनीतिक पार्टीहरुले हस्तक्षेप गर्दै आएको र यसले सुखद परिणाम नदिएको सहकारीकर्मीहरु बताउँछन् । पार्टीका कारण सही व्यक्ति नेतृत्वमा पुग्न नसक्ने, पुगेको व्यक्तिले पनि स्वतन्त्र रुपमा काम गर्न नपाएको जस्ता विश्लेषण हुने गरेको छ । यस्तै पार्टीगत नेतृत्वका कारण सरकार र नियामक निकायमा सहकारीको एजेण्डाको लविइङ कमजोर रहेको आम सहकारीकर्मीको बुझाइ छ ।

सहकारीमा नेतृत्व चयन सहकारी महासंघकै सहजिकरणमा हुनुपर्ने सहकारीकर्मीहरुको माग छ । ‘सहकारीको नेतृत्व चयन गर्न सहकारी अभियानकै नेताहरुले सहजिकरण गर्नुपर्छ, महासंघमा बसेर छलफल हुनुपर्छ’ अर्का ती सहकारीकर्मीले भने, ‘कुनै कोठामा बसेर पार्टी नेताले भाग लगाउने कुरा अब मानिदैन ।’

साक्षी बन्दै महासंघ

सहकारीमा नेतृत्व चयनमा पार्टीको खुलखुल्ला हस्तक्षेप हुँदा सहकारीको मर्मलाई रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको सहकारी महासंघ आफै साक्षी बन्न पुगेको छ ।

शुक्रबार काठमाडौंमा तीन दलको समर्थनमा परितोष पौड्याललाई साझा उम्मेदवार घोषणा गरिएको कार्यक्रममा महासंघका कार्यवहाक अध्यक्ष रमेशप्रसाद पोखरेल आफै सभापति बसेका थिए । यस्तै महासंघका पूर्वअध्यक्ष केशवप्रसाद वडाल पनि कार्यक्रममा अतिथिको भूमिकामा बसेर पौड्यालको पक्षमा मत मागे ।

कार्यवहाक अध्यक्ष पोखरेल आफु महासंघको प्रतिनिधि नभई सहकारीकर्मीका रुपमा कार्यक्रममा सहभागि भएको बताउँछन् । ‘महासंघको कावा अध्यक्षको भूमिका रही मैले सहमतिको अधिकतम प्रयास गरे’ उनले भने, ‘सहमति नभएपछि कुनै उम्मेदवारलाई सहयोग गर्न पाउनु मेरो व्यक्तिगत अधिकार हो ।’

महासंघका अध्यक्ष र पूर्वअध्यक्षले सहकारीका भाषण गरिरहदा कार्यक्रममा एमाले सचिव खगराज अधिकारी, एमाले केन्द्रीय सदस्य खेम लोहनी, नेकपाका सचिवालय सदस्य लिलामणी पोखरेल, नेपाली कांग्रेस केन्द्रीय सदस्य संगीता सत्याल लगायतका नेताहरु मञ्चमा थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?