कठमाडौ । तीन सातापछि मेची नाकाबाट नेपाली चिया निकासी पुनः सुचारु भएको छ । भारतीय ‘टि बोर्ड’ले आयातित चियामा शत प्रतिशत नमुना परिक्षणको कडा प्रावधान परिमार्जन गरेपछि तीन सातादेखि बन्द भएको नेपाली चिया निकासी पुनः सुरु भएको हो ।
भारतीय टि बोर्डले मे १ देखि नेपालसहित विभिन्न देशबाट आयात हुने सबै चियामा शतप्रतिशत नमुना परीक्षण अनिवार्य गर्ने व्यवस्था लागू गरेको थियो । उक्त निर्णयपछि पूर्वी नाका मेची हुँदै भारत निर्यात हुने नेपाली चियाको निकासी प्रभावित बनेको थियो । नेपालबाट भारततर्फ जाने करिब ९० प्रतिशत चिया मेची नाकाबाट निकासी हुने गर्दछ ।
बोर्डले घरेलु खपतमा पहिलेकै व्यवस्था लागु हुने जनाएपछि नेपालबाट निकासी हुने चिया पुनः निर्यात हुन सुरु भएको हो । नेपालबाट भारतमा जाने चिया ‘रेन्डम सेम्पलिङ’ अर्थात् जोखिम व्यवस्थापन प्रणालीका आधारमा मात्र नमुना परीक्षण गरिने व्यवस्था थियो । अब सोही व्यवस्था लागु भएको छ ।
पुनः निर्यात (री–एक्सपोर्ट) का लागि आयात हुने चियामा भने शतप्रतिशत परीक्षणको व्यवस्था यथावत राखिएको छ ।
मंगलबार भारतीय टी बोर्डको परिमार्जित पत्र मेची भन्सार कार्यालयमा प्राप्त भएको मेची भन्सारका सूचना अधिकारी तथा भन्सार अधिकृत इश्वरकुमार हुमागाईँले बताए । उनका अनुसार अब सोही व्यवस्थाअनुसार चिया निकासी प्रक्रिया अगाडि बढ्नेछ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय पक्षले घरेलु उपभोगका लागि आयात हुने चियामा पुरानै व्यवस्था कायम गरेकाले अब केही दिनभित्र नियमित रूपमा निकासी सुरु हुने बताए ।
नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुँदै आएको छ । हाल नेपालमा २० हजार ३०२ हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ । यस क्षेत्रमा १५ हजारभन्दा बढी किसान प्रत्यक्ष संलग्न छन् भने करिब ६० हजार जनाले रोजगारी पाएका छन् । देशभर १७० वटा चिया बगान र १२० वटा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया