काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड जेठ ९ गते (आज) हुने निर्वाचनमा बागमती प्रदेशबाट सञ्चालक पदका लागि डा. परितोष पौड्याल र रामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा हुदैछ । अन्य प्रदेशका लागि सञ्चालकहरु सर्वसम्मत चयन भएपनि वागमतीमा लागी २ जनामा दावी कायमै रहेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो ।
दुवै उम्मेदवारले आफ्ना एजेण्डा सार्वजनिक गर्दै मतदातामाझ सक्रिय प्रचार प्रसार गरेका छन् । उनीहरुको एजेण्डामा बैंकको वित्तीय अवस्था, सुशासन, डिजिटल रूपान्तरण र सहकारी अभियानको पुनर्संरचना जस्ता विषय अहिले चुनावी बहसको केन्द्रमा देखिएका छन् ।
तीन प्रमुख राजनीतिक दलको समर्थन पाएका भनिएका डा. परितोष पौड्यालले आफूलाई “सहकारी क्षेत्रको नीति सुधार र संस्थागत स्थायित्व” को उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । उनले सार्वजनिक गरेको ९ बुँदे प्रतिबद्धतामा सहकारीमैत्री नीति तथा ऐन संशोधन, वित्तीय स्थायित्व, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिएका छन् ।
पौड्यालले सहकारी बैंकको डिजिटल रूपान्तरण, युवा तथा नवप्रवर्तन केन्द्रित अभियान, सदस्य संघ संस्थालाई तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समस्याग्रस्त सहकारीलाई सहजीकरण गर्दै समाधानमुखी नीति अपनाउने तथा कर्मचारीहरूको वृत्ति विकास र स्थायित्वमा ध्यान दिने एजेण्डा अघि सारेका छन् । उनको अर्को मुख्य एजेण्डा सहकारी अभियानको नियमनलाई एकीकृत ढंगले अघि बढाउन “एकमुष्ट नियामक निकाय” को अवधारणालाई समर्थन गर्नु पनि हो । यसलाई सहकारी क्षेत्रको दीर्घकालीन संरचनात्मक सुधारसँग जोडेर हेरिएको छ ।
यता रामशरण शर्मा घिमिरे भने सदस्यकेन्द्रित बैंकिङ, उत्तरदायित्व र सहकारी मूल्यको संरक्षणलाई मूल नारा बनाएर चुनावी मैदानमा उत्रिएका छन् । उनले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धतामा सदस्य संस्थाका समस्या र सुझावलाई प्राथमिकतासाथ सम्बोधन गर्ने, बैंकको पारदर्शिता तथा सुशासनलाई मजबुत बनाउने र सेवा–सुविधा विस्तार गर्ने योजना अघि सारेका छन् ।
घिमिरेले युवा, महिला तथा सबै सदस्यहरूको सहभागिता वृद्धि गर्ने, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने तथा सहकारी मूल्य र मान्यताको संरक्षणलाई जोड दिएका छन् । साथै उनले “सदस्यको विश्वास र सहकारीको विकास” लाई आफ्नो मुख्य चुनावी नारा बनाएका छन् । उनले सहकारी संस्थाहरूको आर्थिक समृद्धि र दिगो विकासका लागि बैंकलाई “विश्वसनीय साझा प्लेटफर्म” का रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । सदस्यमैत्री सेवा, जवाफदेही नेतृत्व र व्यवहारिक सुधारमार्फत बैंकलाई पुनः विश्वासिलो संस्थाका रूपमा स्थापित गर्ने उनको दाबी छ ।
सहकारी बैंकको निर्वाचनलाई सहकारी अभियानभित्रको शक्ति सन्तुलन र भावी नेतृत्व दिशासँग समेत जोडेर हेरिएको छ । विशेषगरी बागमती प्रदेशको प्रतिस्पर्धालाई यसपटकको निर्वाचनको “मुख्य भिडन्त” का रूपमा लिइएको छ ।
वागमतीको सञ्चालकलाई बैंकको भावी अध्यक्षको रुपमा समेत हेरिएकाले सहकारीकर्मीलाई बढी चासाे छ ।
प्रतिक्रिया