वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकको ब्याजदर न्यून विन्दुमा : बचतमा शून्य नजिक, लगानी नहुँदा थुप्रियो तरलता

सहकारी बैंकको ब्याजदर न्यून विन्दुमा : बचतमा शून्य नजिक, लगानी नहुँदा थुप्रियो तरलता
अर्थटुडे
२०८३ असार २, मंगलवार

काठमाडौं । सहकारी क्षेत्रमा तरलता (लगानीयोग्य पुँजी) थुप्रिदै गएपछि ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाले सहकारी क्षेत्रमा देखिएको अधिक तरलता र लगानीको कमजोर मागलाई प्रतिबिम्बित गरेको छ ।

बैंकले अधिकांश बचत योजनाको ब्याजदर घटाउँदै मुद्दती निक्षेपभन्दा नियमित बचतलाई प्राथमिकता दिएको देखिन्छ । पछिल्लो ब्याजदर संरचनाले सहकारी बैंकमा रकम थुप्रिएको तर त्यसअनुसार कर्जा विस्तार हुन नसकेको संकेत गरेको छ ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार साधारण बचतमा न्यूनतम ०.१० प्रतिशत ब्याजदर कायम गरिएको छ । त्यस्तै विशेष बचतमा पनि ०.१५ प्रतिशतसम्म मात्र ब्याज पाइने व्यवस्था गरिएको छ । केही सुपर बचत योजनामा समेत ब्याजदर ०.२० प्रतिशतको हाराहारीमा सीमित गरिएको छ ।

यसअघि तुलनात्मक रूपमा आकर्षक मानिने मुद्दती निक्षेपको ब्याजदर पनि घटेर न्यून विन्दुमा पुगेको छ । बैंकले ६ महिनादेखि १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा २.२५ प्रतिशत, १ वर्ष अवधिको मुद्दतीमा २.६५ प्रतिशत र ३ वर्ष वा सोभन्दा माथिको मुद्दती निक्षेपमा ३ प्रतिशतसम्म ब्याज दिने व्यवस्था गरेको छ ।

मुद्दतीभन्दा नियमित बचतमा जोड

बैंकको नयाँ ब्याजदर संरचनाले दीर्घकालीन मुद्दती निक्षेप संकलनभन्दा नियमित बचत खाता प्रवद्र्धन गर्न खोजेको देखिन्छ । अधिक तरलताको अवस्थामा संस्थाले महँगो ब्याज दिएर लामो अवधिको निक्षेप आकर्षित गर्नुपर्ने आवश्यकता नरहेको विज्ञहरूको भनाइ छ ।

सहकारी बैंकमा अहिले लगानीयोग्य रकम पर्याप्त रहेकाले निक्षेपको लागत घटाउने रणनीति अपनाइएको देखिन्छ । बैंकले नियमित बचत योजनामा न्यूनतम ब्याज कायम गर्दै सदस्य संस्थालाई कारोबार विस्तारतर्फ केन्द्रित गर्न खोजेको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्डमा पनि सहकारी संघसंस्थाहरुको बचतमध्ये न्यूनतम २५ प्रतिशत नियमित बचतको हिस्सा हुनुपर्ने प्रावधान छ । यही प्रावधानका कारण बैंकले पनि बढी व्याज दिएर नियमित बचतलाई प्रोत्साहन गरेको हो ।

कर्जाको ब्याजदर पनि घट्दो क्रममा
सहकारी बैंकको निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकले कृषि तथा कृषि परियोजना कर्जा, लघु तथा गरिबी निवारण कर्जा, महिला सशक्तीकरण कर्जा, पर्यटन प्रवद्र्धन कर्जा लगायतका क्षेत्रमा तुलनात्मक रूपमा कम ब्याजदर तोकेको छ ।

साधारण कर्जाको ब्याजदर ५.५० प्रतिशतबाट सुरु हुने व्यवस्था गरिएको छ भने कृषि तथा कृषि परियोजना कर्जाको ब्याजदर ५.५० प्रतिशतसम्म कायम गरिएको छ । त्यस्तै व्यवसायिक आवधिक कर्जा, हायर पर्चेज कर्जा लगायतका कर्जाको ब्याजदर पनि अघिल्ला महिनाको तुलनामा घटाइएको छ ।
तर कर्जाको ब्याजदर घटाउँदा पनि बजारमा कर्जाको माग बढ्न सकेको छैन । सहकारी संस्थाहरूले नयाँ लगानीका अवसर खोजिरहेका भए पनि सदस्य तथा व्यवसायीबाट कर्जाको माग अपेक्षाअनुसार आउन नसकेको अवस्था छ ।

तरलता थुप्रियो
सहकारी क्षेत्रमा पछिल्लो समय मुख्य चुनौती नै अधिक तरलता बनेको छ । राष्ट्रिय सहकारी बैंकमा करिब ७० प्रतिशतको हाराहारीमा तरलता रहेको छ । संकलित निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसक्दा बैंक तथा सहकारी संस्थाको आम्दानीमा दबाब बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?